दैनिक तीन लाख लिटर दुध बढी

काठमाडौँ, साउन ३ गते । केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ ।

गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दुध उत्पादन घटेको छ । तैपनि डेरीवालासँग बढी भएको दुध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार अहिले नेपालमा दैनिक तीन लाखभन्दा बढी लिटर दुध धेरै भइरहेको छ । बढी भएको दुधलाई कसरी व्यवस्थापन गर्ने चिन्ता भइरहेको बताउँदै उहाँले यो सिजनमा दुध बढ्ने होइन, दुध घट्नुपर्ने हो तर एक्कासि दुध बढेर आएको छ, त्यसलाई खपत गर्न धौधौ परेको बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले यो दुधका लागि सुक्खा सिजन हो, यो सिजनका लागि डेरीवालाले धुलो दुध बनाएर राख्थे र दुध कम भएका बेला धुलो दुध प्रयोग गर्थे तर अहिले बजारमा दुध अत्यधिक बढी देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सामान्य अध्ययन गर्दा चार कारणले दुध बढी भएको छ, उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दुधमा कटौती गरेका छन् । अर्को कारण, लम्पी स्किन हो, किसानका घरमा गाईबस्तुमा यदि रोग लागेको छ भने त्यो दुध आफैँ नखाएर बजारमा नै पठाउने गरेका छन् । तेस्रो कारण, भारतबाट दुध अवैध रूपमा अत्यधिक आउन थालेको छ र चौथो कारण धुलो दुधको प्रयोग ।”

नेपालमा ६५ रुपियाँ लिटर दुध पाइन्छ भने भारतको विहारमा भारु ३४ मा प्रतिलिटर दुध पाइन्छ । भारतभन्दा नेपालमा १० रुपियाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दुध बेचिरहेका कारण नेपालमा दुध अत्यधिक भएको सरोकारवाला बताउँछन् ।

भारतमा दुध सस्तो पाइन्छ भनेर केही डेरीवालाले सीमा क्षेत्रमा सङ्कलन केन्द्र खोलेका छन् । त्यहाँ भारतीय दुध अवैध रूपमा खरिदबिक्री हुन्छ । केही डेरीवालाले त नेपालको दुध खरिद गर्न नै छाडिसकेको गुनासो आइरहेको छ ।

नेपालमा उत्पादन हुने दुधमध्ये ५० प्रतिशत किसान आफ्नै घरमा खपत गर्छन् । बाँकी ५० प्रतिशत दुध बजारमा जान्छ । किसानले आफैँ खपत गर्ने गरेको दुध पनि अहिले बजारमा आउन थालेको छ । एसोसिएसनका अध्यक्ष दाहालले भन्नुभयो, “जसको गोठमै गाई बिरामी परेका छन्, त्यसले लगभग दुध खान छाडी नै सकेका छन् । त्यो सबै दुध बजारमा आउन थालेको छ, त्यसैले गर्दा दुधको फ्लो अलि बढी नै भएको छ ।”

फल्स सिजन (दुध बढी हुने समय) मा डेरीवालाले बनाएर राखेको धुलो दुध अहिले प्रयोग गर्न थालेका छन् । यही समयका लागि धुलो दुध बनाएर राखिएको हुन्छ, यदि त्यो प्रयोग गरिएन भने अर्को घाटा हुन्छ भनेर अधिकांश डेरीवालाले किसानको दुध नलिएर धुलो प्रयोग गर्ने कारणले बजारमा दुध बढी देखिएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यो सिजनमा दुध कम हुन्छ भनेर पहिला नै हामीले धुलो बनाएर राख्छौँ तर अहिले कच्चा झोल दुध नै बढी भएको छ । कच्चा दुध प्रयोग गरौँ कि धुलो दुध प्रयोग गरौँ, दोधारमा परेका छौँ । अहिले धुलो दुध बनाउनेले पनि कच्चा दुध लिन मानिरहेका छैनन् ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा वार्षिक कुल दुध उत्पादन २३ लाख एक हजार मेट्रिक टन हुन्छ । कुल दुध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ । गाईले औसतमा प्रतिबेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दुध दिने गरेको देखिन्छ । जुन अन्य देशको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो । तैपनि अहिले दुध बढी भएर मिल्क होलिडे गर्ने अवस्था आएको नेपाल डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।यो समाचार  गोरखापत्र बाट साभार गरिएको हो ।

Facebook Comments Box
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि

2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…

TOP
Shares