अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी : पत्रकार महासंघको धारणा सार्वजनिक

काठमाडौँ । कालीगण्डकी बचाउ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा नेपाल पत्रकार महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी भएको भन्दै महासंघले बुधबार ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।

कुनै पनि संस्था वा व्यक्तिलाई प्रश्न सोध्ने तथा खबरदारी गर्ने लोकतान्त्रिक अधिकार भएपनि त्यसको भाषाशैली सभ्य भने हुनुपर्ने महासंघको भनाइ छ ।

‘नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेकोले त्यसको खारेजीको माग गर्दै आइरहेको छ । जुन उद्देश्यले कानुन ल्याइएको हो, त्यही प्रयोजनका लागि मात्र त्यसको प्रयोग गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’, महासंघले जनाएको छ ।

महासंघले पर्वतमा देखिएको समस्यालाई संवाद र विद्यमान अन्य कानुनी प्रक्रियाबाट टुंगोमा पुर्याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

पत्रकारिताको मूल्यमान्यता, आचारसंहिता र साख बुझेका दुवै पक्षले आफ्नो स्वविवेक प्रयोग गरी छलफल र वार्ताकै माध्यमबाट समस्या सुल्झाउन तथा दुवै पक्षबाट भएका कमीकमजोरी सच्याउन महासंघले आग्रह गरेको छ । गिरीले पत्रकार महासंघ पर्वतकै पदाधिकारीलाई लक्षित गरेर टिप्पणी गरेपछि महासंघ पर्वतकै उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणपछि पत्रकार महासंघ पर्वतको आलोचना भइरहेको छ।

Facebook Comments Box
TOP
Shares