एक महिनामा २० लाख दर्शनार्थी पुगे मत्स्यनारायण

तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिरमा यसपटक २० लाखभन्दा बढी दर्शनार्थी पुगिसकेका छन् । चन्द्रागिरि नगरपालिका–९ मा पर्ने यस मन्दिरमा दैनिक हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ ।

मत्स्यनारायण मन्दिरमा कीर्तिपुर र सतुंगल दुवै स्थानबाट जान सकिन्छ । कीर्तिपुर नगरपालिका–४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिक रूपमा महत्वपूर्ण भए पनि प्रचारप्रसार अभावमा अझै ओझेलमा रहेको स्थानीयको गुनासो छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उनले वेदको रक्षा गरेको पुराणहरूमा उल्लेख छ । मत्स्य अवताररूपी भगवान् विष्णुले जल मात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्यपुराण सुनाएको विश्वास गरिन्छ ।

पूर्वकल्पमा ब्रह्माजीका मुखबाट निस्किएको वेदलाई मायावी दानवराज ह्यग्रिवले नष्ट गर्न खोजेपछि भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गरेको विषय मत्स्यपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

पुरुषोत्तममासमा यहाँको कुण्डमा स्नान गरी मत्स्यरूपी भगवान् विष्णुको पूजा, आराधना एवं दर्शन गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले साउन महिनाभर यहाँ भक्तजन आउने गरेको मेला व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका ध्रुव बस्नेतले जानकारी दिए ।नयाँपत्रिकाबाट साभार

Facebook Comments Box
TOP
Shares