सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टीट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

‘राति १२ बजेपछि जंगली हात्ती आएर सेफ्टीट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलनको काम भइरहेको छ।’

उनले  जंगली हात्ती बथानमा आएको र मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए।

‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ।’रासस

Facebook Comments Box
TOP
Shares