

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए ।
गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले रु तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो ।
नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो । अहिले भर्खर १९ वर्ष लाग्नुभएका मिलनले मेनपावर कम्पनीको कुरा सुन्नासाथ गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने सपना बुन्न थाले ।
आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा युट्युब खोतल्न थाले । परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उहाँले व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गरे । मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गरे।
अहिले मिलनले लगाएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क फुलेको सूर्यमुखी फूलको खेती देख्दा रमित लाग्दो छ ।
युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताए । “विदेश जाने सोच बनाएको थिए । फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा पनि दलालहरुले ठग्दा रहेछन्”, उनले भने, “त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो । परीक्षणकालमै राम्रो उत्पादन हुने देखिएको छ । आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु ।”
फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्ने बित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको मिलनले जानकारी दिए । “परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन । गाउँमा आम्दानीको अन्य स्रोत पनि छैन । आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु”, उनले भने, “आफ्नो गाउँमा खपत हुने खानेतेल आफ्नै गाउँमा उत्पादन गर्ने गरी योजना बनाएको छु । उत्पादित कच्चा पदार्थलाई आफैँ प्रशोधन गर्ने गरी मिलसमेत खरिद गर्ने तयारीमा छु ।”
नगरपालिकाको कृषि शाखामा आधिकारिकरुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभएका मिलनलाई आमा र बुबाले समेत साथ दिँदै आएका छन् । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत मिलनको सूर्यमुखी फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् ।
खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए। “खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नुभएको रहेछ”, उनले भने, “व्यावसायिकरुपमा कृषि पेसा अपनाउने व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । उहाँ ९मिलन राई०ले लगाउनुभएको सूर्यमुखी फूलको खेती सफल भएको खण्डमा उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।”
किशोरावस्था ननाघेका मिलनले आफ्नै लगानीमा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती सुरु गरेपछि नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली लिएर अवलोकनमा खार्मी पुगेका थिए । पन्ध्र वडा रहेको यस नगरपालिकाको नवौँ नगरसभाले खार्मी, पाथेका र जालपालाई तेलहनजन्य खेतीका लागि पकेट क्षेत्र बनाउने घोषणा गरेको अवस्थामा मिलनले सुरु गरेको सूर्यमुखी फूलको खेती सप्रिएको खबर पाएपछि उपप्रमुख राईको टोली अवलोकनमा खार्मी गएको हो ।रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





