वर्षाले धानबालीमा क्षति

चितवन । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए। “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उनले भने, “अझै केही दिन पानी पर्ने हो भने यहाँ  समस्या हुन्छ ।” उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए । “मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ”, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न रु २५ हजार लागेको उनले बताए । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेकी थिइन् । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताइन् । “मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो”, उनले भनिन्, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।” काट्न १० जना खेताला लागेको उनले बताइन् ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन्  । “छ–सातवटा बालबालिका छन् । अरु कमाई छैन । यही खेती गरेर खाने हो”, शरणपुरकी शिला लामिछानेले भनिन्, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।” चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

Facebook Comments Box
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि

2.2kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…

TOP
Shares