सराय नाचको संरक्षणमा जुटे गुल्मेली युवा

गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् । बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ । गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोटलगायत पालिकाका युवा यसको संरक्षणमा जुटेका हुन् ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतमा सराय नाच्ने प्रचलन छ । मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुमलगायत स्थान सराय नाचका लागि निकै प्रख्यात स्थलका रुपमा परिचित छन् । एकादशीदेखि पूर्णिमाका दिनसम्म यी स्थानमा हजारौँ मानिस मेला हेर्न र सराय नाच्नका लागि घुइँचो लाग्ने गर्दछ । स्थानीयमात्र हैन जिल्ला बाहिर रहेका व्यक्ति पनि यहाँको सराय नाच हेर्नका लागि आउने गर्दछन् । सबै मानिसको एकै ठाउँमा जमघट हुने र वर्षौंदेखिका पुराना आफन्त र साथीभाइसँग पनि भेटघाट हुने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गर्दछ । रुमाल र तरबार नचाएर एकआपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँपुस्तालाई सराए नाचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले बताए ।

मन्दिरमा चढाइएका खोडा र दसैँका बेलामा राखिएका जमराको माला र धोती पासासहितको एउटै पहिरन लगाएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ । कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँपुस्ताले अनुशरण नगर्दा सराय लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताए ।

इस्मा गाउँपालिकाअन्तर्गत ताल्तुङमा पनि युवाले स्थानीयस्तरमै आपसमा सहयोग उठाएर सराय नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रविक्रम कुँवरले बताए । उनले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताए । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए। मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ । रासस

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares