जम्न थाले नेपाली चलचित्र

काठमाडौँ । कुनै समय दर्शक खोज्न धौ धौ पर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र अहिले सुनौलो समयमा फर्किएको छ । भारतीय चलचित्रको एकछत्र वर्चश्वलाई तोड्दै नेपाली चलचित्रले अहिले अभूतपूर्व व्यापार मात्र गरेका छैनन्, दर्शकको न्यानो प्रतिक्रिया पनि पाएका छन् । ‘हाउसफुल’ भएकाले नेपाली चलचित्र हेर्न दर्शकले एक हप्तासम्म दिन कुरेर बसेका छन् ।

पछिल्लो समय प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ ले हालसम्मकै सर्वाधिक कमाइ गरेर इतिहास बनाइसकेको छ । सँगैका चलचित्र ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले पनि उल्लेखनीय कमाइ गर्दै भारतीय चलचित्रलाई पछारेका छन् । बक्स अफिसको रिपोर्ट अनुसार नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले २७ करोड, ‘छक्का पञ्जा ५’ ले १४ करोड ८८ लाख, ‘१२ गाउँ’ ले १९ करोड ३७ लाख कमाउँदा हिन्दी चलचित्रहरू ‘सिंघम अगेन’ चार करोड छ लाख र ‘भुलभुलैया–३’ ले चार करोड २८ लाख रुपियाँ कमाउनुले पनि नेपाली चलचित्रको प्रभाव बढ्दै गएको देख्न सकिन्छ ।

दर्शकको असीम माया पाएकाले यी चलचित्र लगातार ‘हाउसफुल’ चलिरहे । अभिनय, द्वन्द्व, सङ्गीत, कथावस्तुका कारण दर्शकले नेपाली चलचित्रलाई पछ्याइरहेको सरोकारवाला बताउँछन् । चलचित्र विकास बोर्डको तथ्याङ्कले दसैँबाट प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सर्वाधिक व्यापार गर्ने चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’ रहेको देखाउँछ । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार अहिले एकै प्रकारका चलचित्र मात्र चलिरहेका छैनन् । “भिन्न स्वाद र कथाका चलचित्र दर्शकले हेर्न पाएका छन्,” उहाँ भन्नुहुन्छ, “यसले निर्माता र निर्देशकको कल्पनाशीलतामा पनि अब एकै खालका चलचित्र बनाउनु पर्छ भन्ने भएन ।’’ अहिले चलचित्र चल्नुको कारण चलचित्रमा देखाइएको विषयवस्तुका साथै नयाँ कलाकारको आगमन पनि भएको उहाँको ठम्याइ छ ।

नेपाली चलचित्रमा नेपालीपन भित्र्याएर ‘लुट’ सफल भएको हो भन्ने एक तप्काको मनोकाङ्क्षा पूरा गरेर ‘चपली हाइट’ ले ‘हाइट’ लिएको थियो । यही लयमा चलचित्र ‘छक्का पञ्जा ५’ ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’ हिँडेको देखिन्छ । चलचित्र समीक्षक अनुप सुवेदीको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार भावना, रुवाइकराइ र द्वन्द्वले भरिएको चलचित्र बन्ने सम्भावना धेरै बढेको छ । पहिला द्वन्द्वले भरिएका राजेश हमालका चलचित्रको लयमा ‘१२ गाउँ’ लागेको देखियो भने स्व. शिव रेग्मी निर्देशित चलचित्रको लयमा ‘पूर्णबहादुरको सारङ्गी’ लागेको देखिन्छ । यी चाहिँ चलचित्र चलाउने फर्मुला पनि हुन सक्ने उहाँले बताउनुभयो । सुवेदी भन्नुहुन्छ, ‘१२ गाउँ’ चल्नुको प्रमुख कारण भनेको दक्षिण भारती चलचित्रको प्रभावले नै हो । किनकि यहाँ धेरै दर्शक दक्षिण भारतीय चलचित्रबाट प्रभावित छन् ।

कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली चलचित्रले राम्रो बजार लिएको छ । बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा कसरी उतार्नु पर्छ भन्ने कुरा निर्माता निर्देशकले बुझ्न थालेका छन् । नायिका तथा निर्मात्री रेखा थापा नेपाली चलचित्र चल्नुको श्रेय सबै ‘१२ गाउँ’ लाई दिनुहुन्छ । उहाँका अनुसार विगत १०/१२ वर्षअगाडि चलचित्र प्रदर्शन हुन्थे तर खासै चल्दैनथे । दर्शकमाझ मनोरञ्जन भन्ने कुरा नै हराउन लागेको थियो । एक्कासि ‘१२ गाउँ’ ले चलचित्र हेर्ने दर्शकको बाढी ल्याइदिएको छ । नेपाली चलचित्रका लागि अब फेरि स्वर्णयुग सुरु भएको भन्ने विश्वास लिएको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
141 Shares