बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा सिन्धुलीमा सासु–नन्द पक्राउ

पति विदेशमा, ससुरा फरार—घर खोलिएपछि तनाव, कर्फ्यूसम्मको अवस्था
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ बीपी नगरकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको निर्मम हत्या प्रकरणमा प्रहरीले सासु र नन्दलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अदालतबाट पाँच दिनको म्याद थप भई घटनाको गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सुशीलाकी ६० वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना बम्जनलाई नियोजित हत्याको आरोपमा पक्राउ गरिएको हो । घटनामा संलग्न रहेको आशंकामा सुशीलाका ६५ वर्षीय ससुरा दुर्गामान बम्जनविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनी हाल जलेको अवस्थामा प्रहरी निगरानीमा उपचाररत छन् ।
प्रहरी अनुसन्धानमा चकित पार्ने विवरण बाहिर आएको छ । नन्द मीना बम्जनले दिएको बयानमा आफूले पेट्रोल छर्केर भाउजुलाई आगो लगाएको र ढोका बन्द गरेको, सो कार्यमा आमा मायारानीले साथ दिएको स्वीकार गरेकी छन् । ससुरा दुर्गामान भने बुहारीलाई बचाउन जाँदा आफू पनि जलेको दाबी गरिए पनि घटनाको प्रकृति नियोजित देखिएको प्रहरीले जनाएको छ ।
मृतक सुशीलाका श्रीमान रोजगारीका सिलसिलामा दुई वर्षदेखि दक्षिण कोरियामा रहेका छन् । माइती पक्षको किटानी जाहेरीका आधारमा विदेशमा रहेका श्रीमानको भूमिकासमेत शंकास्पद देखिएको भन्दै प्रहरीले त्यस कोणबाट पनि अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
सुशीलाका पिता प्रेमबहादुर घिसिङले नन्द, सासु र ससुरा मिलेर छोरीको हत्या गरेको उल्लेख गर्दै कडा कारबाहीको मागसहित जाहेरी दर्ता गराएका छन् ।
घटनापछि सिलबन्दी गरिएको घर ‘सामान निकाल्ने’ बहानामा खोलिएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । बिहीबार साँझ तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि भीड नियन्त्रणमा नआएपछि रातभर कर्फ्यू लगाउनुपरेको थियो ।
घटनाले सिंगो जिल्लालाई स्तब्ध बनाएको छ । महिलामाथि भएको यो क्रूर अपराधप्रति चौतर्फी निन्दा भइरहेको छ भने दोषीलाई कडा कानुनी कारबाही गर्न माग तीव्र बनेको छ । प्रहरीले सबै कोणबाट निष्पक्ष र गहिरो अनुसन्धान जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box
TOP
294 Shares