६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । करिब ६ महिनादेखि बन्द रहेको चीन–नेपाल व्यापारिक नाका रसुवागढी आजबाट पुनः सञ्चालनमा आएको छ। गत असार महिनामा आएको भीषण बाढीका कारण ठप्प बनेको नाका आजदेखि पूर्ण रूपमा खुला भएको हो।
चीन र नेपाललाई जोड्ने ल्हेन्दे खोलामा रहेको पक्की पुल बाढीले बगाएपछि २४ असारदेखि रसुवागढी नाका बन्द थियो। त्यसै क्रममा रसुवागढीदेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटर सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
चीन सरकारको सहयोगमा ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज निर्माण भएसँगै नाका पुनः सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए।
हाल निर्माण गरिएको बेलिब्रिज एकतर्फी तथा साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आवत–जावत गर्न सकिने अवस्था छैन। साथै, बढी भारवहन क्षमता भएका सवारीसाधन ओसारपसार गर्न पनि हाललाई सम्भव नभएको भन्सार कार्यालयले जनाएको छ।
नाका पुनः सञ्चालनमा आएसँगै स्थानीय अर्थतन्त्र, व्यापारिक गतिविधि तथा चीन–नेपाल व्यापार सम्बन्धमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
368 Shares