पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि चुनाव सुरक्षा कडा, संदिग्ध समूह निगरानीमा

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘निर्वाचनविरोधी’ अभिव्यक्तिपछि देशभर सुरक्षा संयन्त्र सतर्क बनेको छ। आसन्न निर्वाचनलाई लक्षित गरी हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रहरीले विभिन्न समूह र व्यक्तिमाथि निगरानी तीव्र पारेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंनिकट एनी टाइम फोर्स (एटिएफ), शाही युवा शक्ति तथा मधेशी युथ फोरम नामक समूहका गतिविधि निगरानीमा राखिएका छन्। सामाजिक सञ्जालमार्फत संगठित भई निर्वाचनविरोधी अभियान चलाउने र सामाजिक सद्भाव खल्बल्याउने प्रयास भएको सुरक्षा निकायको प्रारम्भिक निष्कर्ष छ।
‘पूर्वराजाको अभिव्यक्तिपछि केही समूह चुनाव बिथोल्न सक्रिय भएको संकेत देखिएको छ,’ एक उच्च सुरक्षा अधिकारीले भने, ‘त्यस्ता सबै समूहको पहिचान गरी निगरानी र आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेका छौँ।’
प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका थिए। त्यसयता केही राजावादी समूह निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सुरक्षा निकायको रिपोर्टमा उल्लेख छ।
केही व्यक्ति हिरासतमा, थपमाथि अनुसन्धान
निर्वाचनविरोधी गतिविधिको आरोपमा प्रहरीले दुर्गा प्रसाईं, धर्मेन्द्र बाँस्तोला, ऋषि कट्टेल, एसपी साहलगायत व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ। पशुपति खड्का र सन्तोष राजावादीलगायत व्यक्तिलाई निगरानीमा राखिएको छ। केही उग्र पहिचानवादी समूहलाई समेत सम्भावित सुरक्षा चुनौतीका रूपमा सूचीकृत गरिएको छ।
उपत्यकाबाट १२ हजार प्रहरी परिचालन
निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाबाट करिब १२ हजार प्रहरी देशका विभिन्न जिल्लामा परिचालन गर्ने निर्णय भएको छ। हालसम्म नौ हजार प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरी खटाइसकिएको छ।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार कार्यालयका अत्यावश्यक बाहेक सबै जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गरिएको छ। उच्च प्रहरी अधिकारीहरूलाई समेत विभिन्न जिल्लामा अनुगमनका लागि खटाउने तयारी गरिएको छ।
मिथ्या सूचना रोक्न एआई सेल
डिजिटल माध्यमबाट फैलिने मिथ्या सूचना र साइबर अपराध नियन्त्रण गर्न प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनालिटिकल सेल (एआई सेल) स्थापना गरेको छ। सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरेका हुन्।
प्रहरी प्रधान कार्यालयमा स्थापना गरिएको एआई सेलले प्रोएक्टिभ इन्टेलिजेन्स, अर्ली वार्निङ प्रणाली, डिजिटल अपराध विश्लेषण तथा एआईको दुरुपयोग पहिचान गर्ने उद्देश्य राखेको छ।
प्रहरीका अनुसार एआई सेलको प्रयोगबाट मिथ्या सूचना प्रसारणमा संलग्न पाँच जनालाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
‘बढ्दो साइबर अपराध, गलत सूचना र डिजिटल माध्यमबाट हुने अस्थिरता सिर्जना गर्ने अभियानहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती बन्दै गइरहेका छन्,’ प्रहरी प्रवक्ता काफ्लेले भने, ‘आमनागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत हुन आवश्यक छ।’
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्रले सतर्कता बढाएको छ भने सरकार र सुरक्षा निकायले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२० घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
268 Shares