कालीमाटी डीएसपी घिमिरेको सौताने व्यवहार पक्राउ सूचीका कोही कस्टडीमा, कोही भने खुलेआम कामकाजमा ?

 

काठमाडौं  असोज १६ ।   प्रहरीको पक्राउ सूचीमा रहेकाहरु खुलेआम कामकाजमा हुनु मात्र होइन कि स्वयम् प्रहरीलाई जानकारी गराउँदा समेत ‘होस् दशैंको मुखमा’ भनेर वेवास्था गर्नुलाई कसरी लिने ? त्यो पनि डीएसपी अर्थात् प्रहरीको युनिट इन्चार्जकै मुखबाट ।
कालीमाटीस्थित जिलेट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी र जिम्मेवार कर्मचारी गरी एक दर्जन व्यक्ति प्रहरीको पक्राउ सूचीमा परेका छन् । उनीहरुमाथि बचतकर्ताको करोडौं रुपैया ठगी अर्थात् हिनामीना गरेको आरोप लागेको छ । मुद्दती निक्षेप र क्रमीक बचत खातामा जम्मा गरिएको रकम समेत आफ्ना बचतकर्ता सदस्यलाई माग बमोजिम समयमै फिर्ता गर्न नसक्दा उक्त सहकारी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
प्रहरी वृत्त, कालीमाटीमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौं माफर्त दर्जन बढी उक्त सहकारीका पदाधिकारी तथा सञ्चालन सदस्यलाई रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा चलाउनका लागि पक्राउ पूर्जी जारी भएको छ । तर, पक्राउ पूर्जी जारी भएका तीन जना मात्र प्रहरी हिराशतमा परेका छन्, बाँकी खुलेआम कामकाजमा रहीरहेको मात्र होइन, प्रहरी वृत्त कालीमाटीका डीएसपी अनील घिमिरेलाई जानकारी गराउँदा ‘दशैंको मुखमा होस्’ भन्ने जवाफ पिडीत पक्षले सुन्नु पर्दा प्रहरी प्रति उनीहरुको विश्वास कस्तो रहला ?
प्रहरी वृत्त, कालीमाटीले जिलेट सहकारीका अध्यक्ष ओमकुमारी शर्मा, सल्लाहकार तथा सचिव मधुसुदन पाठक र यसोदा वानीयालाई पक्राउ गरिसकेको भए पनि सोही सहकारीका पूर्व अध्यक्ष रामकृष्ण महर्जन, रामगोपाल महर्जन, सचिव नेत्र खड्का, कोषाध्यक्ष नारायणदेवी डंगोल, रविन्द्र महर्जन, इन्द्रमान श्रेष्ठ, सागर मानन्धर, जीवन पौडेल, विनीता लिम्बु र पार्वती पुलामीलाई भने पक्राउ गर्ने इच्छा देखाएको छैन ।
पक्राउ सूचीमा रहेकाहरु खुलेआम हिँडीरहेको अवस्थामात्र छैन कि उनीहरु जोसुकैको मोवाइल फोन समेत उठाएर ढुक्कैले कुरा गर्छन् र पनि प्रहरीले चासो नदिनु र जानकारी गराउँदा समेत पक्राउ गर्न आनाकानी गर्नुले प्रहरीका डीएसपी अनिल घिमिरे प्रभावमा वा प्रलोभनमा फसेको अनुमान गर्न गाह्रो छैन ।
पूर्व अध्यक्ष रामगोपाल महर्जनको घर कालीमाटीमै जिलेट स्कुल अगाडी छ भने रामकृष्ण डंगोलको कालीमाटीमा एभरेष्ट बैंक रहेको घर हो । आर्थिक रुपमा सम्पन्न यीनीहरुकै जोडबलका आधारमा प्रहरीले दशंै अगाडी पक्राउ सूचीमा नाम भएता पनि नपक्रने सोच बनाएको देखिन्छ ।
दशैं अगाडी पक्राउ गर्दा अदालत विदा हुने भएकाले पक्राउ सूचीमा रहेकाहरुलाई डिएसपी घिमिरेले त्यतीञ्जेल संरक्षण दिन खोजेको देखिन्छ । सोही मुद्दाका तीन जना भने यतीबेला पनि प्रहरी कस्टडीमै छन् । डीएसपीको सौताने व्यवहारप्रति पक्राउ परेकाहरुको परिवार भने रुष्ट देखिन्छ । ‘प्रहरीले नै ‘वाच’ गरेर पक्राउ गर्नु पर्ने व्यक्तिहरु हामीले देखाइदिँदा पनि नपक्रनुमा आर्थिक चलखेल बाहेक अरु के रहश्य होला र ?’ उनीहरुको प्रश्न छ ।

Facebook Comments Box
TOP
Shares