यसपालि को चुनावमय दसैं

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू प्रतिनिधिसभाको उम्मेदवार चयन गर्न अन्तिम तयारीमा लागेका छन् ।

प्रतिनिधिसभाका सम्भावित उम्मेदवारहरू आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । दसैंको अवसरमा गाउँ गएका मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरूले भेटघाट र शुभकामना आदानप्रदान बढाएका छन् । दसैं मनाउन सहरबाट गाउँ गएका मतदाता चुनावको माहोलमा छन् ।

आइतबार दलहरूले बुझाएको बन्दसूची नै लगभग अन्तिम हुनेछ । बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । ‘समानुपातिकतर्फको बन्दसूची संशोधन गरेर दलहरूले बुझाइसकेका छन्,’ आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘अब उम्मेदवारको बन्दसूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे फिर्ता हुने, फिर्ता भएको ठाउँमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्ने तालिका छ । यही सूचीलाई आयोगले असोज २२ मा प्रकाशन गर्नेछ ।’समानुपातिकको निर्वाचन कार्यक्रमअनुसार बन्दसूचीमा नाम रहेका उम्मेदवारले सोमबार १२ बजेसम्म आफ्नो नाम फिर्ता लिन निवेदन दिन सक्नेछन् । आयोगले बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सोमबार ३ बजेसम्म सम्बन्धित दललाई दिनुपर्ने हुन्छ । मंगलबार, बुधबार मात्रै निर्वाचनसम्बन्धी कुनै कार्यक्रम छैन । असोज २० देखि २२ सम्म उम्मेदवारको नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा त्यही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली राजनीतिक दलले आयोगमा पेस गर्नुपर्ने हुन्छ । ‘निर्वाचन आयोग टीकाको दिन पनि खुला हुन्छ,’ प्रवक्ता शर्माले भने ।

Facebook Comments Box
TOP
Shares