

समयमै नलगे लाइसेन्स निलम्बन गर्ने चेतावनी
चितवन ट्राफिक कार्यालयमा ८ हजारभन्दा बढी कागजात ‘थन्किए’
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा हजारौँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक तथा अन्य सवारीसम्बन्धी कागजात लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन्। ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका ती कागजात फिर्ता लिन सम्बन्धित व्यक्ति नआएपछि कार्यालयले अब कडाइ गर्ने संकेत दिएको छ।
कार्यालयका अनुसार हालसम्म ८ हजार ९८२ वटा कागजात अभिलेखमा थन्किएका छन्। तीमध्ये धेरैजसो कागजात जरिवाना नतिरेका कारण सवारीधनी तथा चालकले फिर्ता लिन नआएका हुन्। अब कार्यालयले सम्बन्धित व्यक्तिलाई १० दिनभित्र अनिवार्य रूपमा कागजात फिर्ता लिन अन्तिम आग्रह गरेको छ।
प्रहरी निरीक्षक अनिल थापाका अनुसार ट्राफिक नियम उल्लङ्घनपछि दिइने २४ घण्टे पूर्जीको बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ।
“नियम उल्लङ्घनपछि तोकिएको प्रक्रिया अनुसार जरिवाना तिर्नुपर्छ। तर धेरैले त्यसलाई गम्भीर रूपमा नलिँदा कागजात यत्तिकै थन्किएर बसेका छन्,” उनले भने।
डिजिटल प्रणालीपछि बढ्यो कडाइ
विसं २०८० देखि लागू गरिएको ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ पछि उल्लङ्घनका घटनाहरू डिजिटल रूपमा अभिलेख हुन थालेका छन्। यसले सवारी चालकको विगतको गतिविधि, उल्लङ्घनको प्रकृति तथा पुनरावृत्ति समेत ट्र्याक गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि जरिवाना तिरेपछि सहजै कागजात फिर्ता लिने प्रचलन भए पनि अहिले नतिर्ने र बेवास्ता गर्ने प्रवृत्ति स्पष्ट रूपमा देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
“अब प्रणालीले सबै विवरण देखाउँछ। पटक–पटक नियम उल्लङ्घन गर्नेहरूलाई निगरानी गर्न सहज भएको छ,” प्रहरी निरीक्षक थापाले बताए।
२४ घण्टे पूर्जीमा बेवास्ता
ट्राफिक जाँचका क्रममा दिइने २४ घण्टे पूर्जीलाई धेरै चालकले गम्भीर रूपमा नलिने गरेको पाइएको छ। समय अभाव, प्रक्रिया झन्झटिलो हुनु तथा जरिवाना रकम बढी लाग्ने जस्ता कारण देखाइए पनि ट्राफिक प्रहरीले यसलाई कानुनी रूपमा स्वीकार्य नमानिने स्पष्ट पारेको छ।
कागजात हराउने जोखिम बढ्दो
लामो समयसम्म कार्यालयमै थन्किएर बसेका कागजातमा क्षति पुग्ने जोखिम पनि बढेको छ। चिस्यान, आगलागी वा अन्य कारणले कागजात नष्ट हुन सक्ने अवस्था रहेको कार्यालयले जनाएको छ।
यसअघि केही कागजात आगलागीका कारण नष्ट भइसकेका छन्। त्यस्ता अवस्थामा सम्बन्धित सवारीधनीलाई नयाँ कागजात बनाउन सिफारिस गर्ने व्यवस्था रहेको छ।
“कागजात नष्ट भए पनि हामी सिफारिस दिन सक्छौँ, तर सम्बन्धित व्यक्ति कार्यालयमा आउनुपर्छ,” थापाले स्पष्ट पारे।
चालु वर्षमै २ हजारभन्दा बढी कागजात नियन्त्रणमा
चालु आर्थिक वर्षमा मात्र २ हजार २४८ वटा कागजात नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ। तीमध्ये धेरैजसो अझै फिर्ता लिन नआएको तथ्यांकले देखाएको छ।
यो समस्या चितवनमा मात्र नभई देशका अन्य जिल्लामा पनि देखिएको ट्राफिक प्रहरी स्रोत बताउँछ।
लाइसेन्स निलम्बनको चेतावनी
ट्राफिक कार्यालयले अब कानुनअनुसार कडा कदम चाल्ने चेतावनी दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४(५) अनुसार जरिवाना नतिर्ने वा कागजात नलिने चालकको लाइसेन्स एक महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ।
“अब बारम्बार सूचना दिँदा पनि अटेरी गर्नेहरूलाई कानुनअनुसार कारबाही हुन्छ,” प्रहरी निरीक्षक थापाले भने।
जनचेतना र जिम्मेवारीको अभाव प्रमुख समस्या
विशेषज्ञहरूका अनुसार समस्या दुई मुख्य कारणले बढेको देखिन्छ—जनचेतनाको कमी र लापरवाही। ट्राफिक नियम र प्रक्रिया बुझेर पनि बेवास्ता गर्ने प्रवृत्ति उत्तिकै रहेको उनीहरूको भनाइ छ।
यातायात क्षेत्रका जानकारहरूका अनुसार डिजिटल प्रणाली लागू भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि अझै जनचेतना विस्तार आवश्यक छ।
अन्तिम आग्रह
ट्राफिक कार्यालय चितवनले सबै सवारी चालक तथा धनीलाई समयमै कागजात फिर्ता लिन अन्तिम पटक आग्रह गरेको छ।
“कागजात तपाईंको सम्पत्ति हो। समयमै लिएर जरिवाना तिर्नुहोस् र कानुनी झन्झटबाट बच्नुहोस्,” कार्यालयले स्पष्ट पारेको छ।
समाज
थप सामाग्री-
प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा भर्चुअल सम्मेलनमार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन
-
आज वैशाख १० गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
डिआईजी ओम अधिकारीद्वारा महाराजगञ्जस्थित सुरक्षा निकायहरूको निरीक्षण, उच्च सतर्कतामा रहन निर्देशन
-
हिरासत मृत्यु प्रकरणमा भ्रामक समाचार नफैलाउन प्रहरीको आग्रह, छानबिन समिति सक्रिय
-
३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
२३ घण्टा अगाडि
2.7kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी वरिष्ठ…



