सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान

काठमाडौँ । सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा गर्ने निर्णय गरिएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई सशस्त्र प्रहरी बल नेपालले बढुवा गर्ने घोषणा गरेको हो । सहायक निरीक्षक शेर्पाको हकमा तत्काल बढुवा प्रक्रिया अघि बढाइएको छ भने सहायक हवलदार कार्कीलाई तोकिएको सेवा अवधि पूरा भएपछि हवलदार पदमा बढुवा गरिने जनाइएको छ ।

जेठ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूलाई बधाई दिँदै सफल आरोहणलाई संगठनका लागि गौरवको विषय भएको उल्लेख गरे ।

महानिरीक्षक पौडेलले सगरमाथा र लोत्से हिमालमा राष्ट्र र संगठनको झन्डा फहराउनु केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण सशस्त्र प्रहरी परिवारका लागि प्रेरणादायी क्षण भएको बताए । उनका अनुसार यस सफलताले संगठनभित्रका सम्पूर्ण कर्मचारीको मनोबल, उत्साह र समर्पण भावलाई थप मजबुत बनाएको छ ।

सोही अवसरमा आरोहीद्वय शेर्पा र कार्कीले आफूहरूले राष्ट्र र संगठनको झन्डा विश्वको सर्वोच्च शिखरमा फहराउन पाउनु गर्वको विषय भएको बताउँदै सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

सहायक हवलदार अनिता कार्कीले जेठ ३ गते बिहान १०:२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने सहायक निरीक्षक निमदिकी शेर्पाले सोही दिन ११:५५ बजे सगरमाथा र जेठ ४ गते ३:२५ बजे लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।

सशस्त्र प्रहरी बल नेपालबाट सगरमाथा आरोहण गर्ने यी पहिलो महिला आरोही हुन् । उनीहरूको ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्व विकासमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

Facebook Comments Box
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि

2.1kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…

TOP
441 Shares