संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई संख्याको बलमा दम्भ नदेखाउन चेतावनी दिएका छन्। सुनसरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारलाई जवाफदेही बन्न, सुशासन कायम गर्न तथा संवेदनशील विषयमा जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्दै पाँच बुँदे प्रश्न र सुझाव प्रस्तुत गरेका हुन्।

थापाले वर्तमान सरकारले करिब दुई तिहाइ जनमत प्राप्त गरेको स्वीकार गरे पनि शक्ति र लोकप्रियताको आडमा संविधान तथा कानुनभन्दा माथि जान नहुने स्पष्ट पारे। प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले संवैधानिक सीमा र कानुनी दायराभित्र रहेर शासन सञ्चालन गर्न सुझाव दिए।

सरकारले अपेक्षित जवाफदेहिता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै थापाले विगतमा बलियो बहुमत भएका सरकारसमेत जनअपेक्षा पूरा गर्न नसकेर कार्यकाल पूरा गर्न असफल भएको उदाहरण स्मरण गराए। उनले भने, “सरकार चलाउने जनमत पाएकोमा सम्मान छ, तर सरकार जवाफदेही बन्नुपर्छ।”

संविधान संशोधनको विषयलाई लिएर उनले विशेष चासो व्यक्त गरे। नेपालको संविधान–२०७२ नेपाली जनताको भावना र संघर्षसँग जोडिएको दस्तावेज भएकाले यसलाई खेलाँचीको विषय बनाउन नहुने उनको भनाइ थियो। संविधान संशोधनका लागि व्यापक राजनीतिक सहमति र गम्भीर बहस आवश्यक रहेको उनले बताए।

भदौ २४ को घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि थापाले सरकारसँग माग गरे। मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न र पीडितलाई न्याय दिलाउन उनले जोड दिए।

सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले उचित व्यवस्थापन नगरी बस्ती भत्काउन नपाइने बताए। कानुनले तोकेको प्रक्रिया र राज्यको जिम्मेवारी पूरा गरेर मात्रै यस्तो कदम चाल्नुपर्ने उनको भनाइ थियो।

उद्योगी, व्यवसायी तथा बैंकिङ क्षेत्रका व्यक्तिहरूमाथि भइरहेको भनिएको पक्राउ प्रक्रियाप्रति पनि थापाले आपत्ति जनाए। निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाइएको र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारणबिना पक्राउ गरिएको सूचना आएको उल्लेख गर्दै उनले यस्ता गतिविधि दोहोरिए कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए।

सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा सरकारमाथि प्रश्न उठाउँदै उनले करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्थामा केही करोड रुपैयाँ मात्र निकासा गरेर लोकप्रियता खोज्ने प्रयास गरिएको आरोप लगाए।

थापाले अन्त्यमा सरकारलाई शक्ति प्रदर्शनभन्दा सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा केन्द्रित हुन आग्रह गर्दै जनमतको सम्मान गर्ने सबैभन्दा प्रभावकारी माध्यम जवाफदेही शासन नै भएको बताए।

Facebook Comments Box
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि

2.1kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…

TOP
491 Shares