भदौ २४ को घटनाबारे गगन थापाको प्रश्न : ‘वितण्डाको हिसाबकिताब अझै बाँकी छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटना, तोडफोड र आगजनीबारे अझैसम्म निष्पक्ष छानबिन हुन नसकेको बताएका छन्।

शनिबार मोरङको विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा बोल्दै थापाले भदौ २३ गतेको अप्रिय घटनामा राज्य संयन्त्रको गम्भीर कमजोरी रहेको स्वीकार गर्दै त्यसबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको भए पनि भदौ २४ गते भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न राज्य उदासीन देखिएको आरोप लगाए।

उनले कोइराला निवास, चाक्सीबारी, सिंहदरबारदेखि राष्ट्रपति भवन आसपाससम्म भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबारे अझै स्पष्ट जवाफ नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

“भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यसको हिसाबकिताब हुन अझै बाँकी छ,” थापाले भने, “भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यसमा राज्यको ठूलो कमजोरी थियो र त्यसैका आधारमा अनुसन्धान अघि बढेको छ। तर भदौ २४ गते भएका घटनाबारे आवश्यक गम्भीरता देखिएको छैन।”

थापाले उक्त दिन भएका घटनामा ठूलो जनधनको क्षति भएको दाबी गर्दै त्यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार तत्पर हुनुपर्ने बताए।

“त्यस दिन पनि थुप्रै तन्नेरीहरू मारिए, प्रहरीहरू घाइते भए, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो,” उनले भने, “तर यस विषयमा सबैले मौनता साधेजस्तो देखिएको छ।”

उनले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि घटनाको सत्यतथ्य सार्वजनिक हुनु र दोषीमाथि निष्पक्ष कारबाही हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै भदौ २४ का घटनाबारे पनि निष्पक्ष अनुसन्धानको माग गरे।

Facebook Comments Box
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि

2.0kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…

TOP
306 Shares