पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन बने सप्तरीका वडाध्यक्ष यादव

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन्। कुटपिट तथा अंगभंगको आरोपमा उनीसहित पाँच जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कबाहिर गएको खुलेको हो।

प्रहरीका अनुसार सोही वडाका शिव खंग, टुनु खंग, पशुपति खंग र श्रीराम खंगसहित पाँच जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी गरिएको थियो। उनीहरूमाथि स्थानीय ललनकुमार सिंहमाथि कुटपिट गरी गम्भीर चोट पुर्‍याएको आरोप छ।

घटना २०८१ साल कात्तिक २१ गते राजगढ गाउँपालिका–२ स्थित बनैनियाँमा भएको थियो। सार्वजनिक जग्गामा घर निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि विवाद चर्किएको थियो। आरोपअनुसार त्यसक्रममा वडाध्यक्ष यादव र उनका सहयोगीहरूले सिंहमाथि रड प्रहार गरेका थिए। कुटपिटबाट सिंहको हात भाँचिएको थियो।

घटनापछि पीडित सिंहले २०८१ कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए। तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोप लगाइएको छ। त्यसपछि उनले २०८१ माघ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत पुनः जाहेरी दर्ताका लागि पहल गरेका थिए। त्यसबेला पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीले ढिलाइ गरेको भन्दै सिंह अदालत पुगेका थिए।

सिंहले २०८१ चैत ५ गते उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशको रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले २०८२ जेठ १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीका नाममा न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम परमादेश जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष यादवले मंगलबार वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकेका छन्। वडासचिव रामकुमार यादवका अनुसार चार दिनअघि उनले औपचारिक रूपमा कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। प्रहरीले फरार रहेका आरोपितहरूको खोजी तीव्र बनाएको जनाएको छ।

यो घटनाले स्थानीय तहका जनप्रतिनिधिमाथि लागेका आपराधिक आरोप, प्रहरीको प्रारम्भिक भूमिकामाथि उठेका प्रश्न तथा न्यायिक हस्तक्षेपको प्रभावबारे पुनः बहस सिर्जना गरेको छ।

Facebook Comments Box
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि

2.0kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…

TOP
15 Shares