

गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य र गणतन्त्रका उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका छन् । “संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालनमा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् । उनले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने धारणा राखेका छन् ।
“गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,” भन्दै उनले समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय सङ्कल्प बनाउनुपर्ने उनको भनाइ छ ।
उनले राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
“संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो,” प्रचण्डले भनेका छन्, “परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ।”
सन्देशको अन्त्यमा उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।
समाज
थप सामाग्री-
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
-
गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस
-
आज जेठ १५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
२ दिन अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना…



