राप्रपामा गहिरिँदो शक्ति संघर्ष : विभाजनको संघारमा धवलशमशेर समूह, एकता जोगाउन पूर्वअध्यक्षहरूको आह्वान

निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको असन्तुष्टि अब खुला शक्ति संघर्षमा रूपान्तरण हुँदै पार्टी विभाजनतर्फ धकेलिने संकेत देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको समूहले छुट्टै राजनीतिक गतिविधि र भेला गर्ने तयारी गरेसँगै पार्टीभित्र तनाव झनै चुलिएको छ ।

पार्टी स्रोतका अनुसार राणा समूहले यही साता काठमाडौंमा छुट्टै भेला आयोजना गर्ने तयारी गरेको छ । उक्त भेलामा पार्टी नेतृत्वसँगको असन्तुष्टि औपचारिक रूपमा प्रस्तुत गर्दै आगामी राजनीतिक दिशाबारे रणनीति तय गर्ने सम्भावना रहेको बताइएको छ । केही नेताहरूले भने यसै भेलालाई पार्टीबाट अलग हुने सम्भावित निर्णयतर्फको पहिलो कदमका रूपमा समेत व्याख्या गरेका छन् ।

यता, पार्टीभित्रको विवाद सार्वजनिक हुँदै जाँदा पूर्वअध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सम्भावित विभाजन रोक्न आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई तत्काल विवादमा नधकेरी एकता कायम गर्दै आगामी महाधिवेशनमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वअध्यक्षहरूको विज्ञप्तिमा भनिएको छ, “हार–जित र आरोह–अवरोह राजनीतिक जीवनको स्वाभाविक प्रक्रिया हो। वर्तमान चुनौतीबाट विचलित नभई संगठन सुदृढीकरणतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ।” उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा अघि सार्दै राप्रपालाई अझ सशक्त बनाउने सम्भावना रहेको पनि दाबी गरेका छन् ।

पार्टीले यसअघि नै जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति टुंगो लगाउने निर्णय गरिसकेको छ । पूर्वअध्यक्षहरूले सोही प्रक्रियामार्फत आन्तरिक विवादको समाधान खोज्न आग्रह गर्दै तत्काल पार्टी छाड्ने वा विभाजनतर्फ जाने कदम आत्मघाती हुने चेतावनीसमेत दिएका छन् ।

नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि २०४७ साल जेठ १५ मा स्थापना भएको राप्रपा समय–समयमा विभाजन र पुनःएकीकरणको चक्रबाट गुज्रिँदै आएको छ । हालको विवादले फेरि एकपटक पार्टीलाई गम्भीर मोडमा पुर्‍याएको देखिएको छ ।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि

1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
405 Shares