एसएसपी सरुवामा विवाद : मापदण्ड विपरीत ‘इन्चार्ज टु इन्चार्ज’ जिम्मेवारी, शान्तिराज कोइराला केन्द्रमा

काठमाडौं । नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सोमबार गरिएको सरुवामध्ये एक सरुवाले विशेष चर्चा र प्रश्नहरू जन्माएको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले सार्वजनिक गरेको सरुवा सूचीमा केही निर्णयहरू प्रहरीकै सरुवा मापदण्डसँग मेल नखाएको देखिएको छ।

प्रहरी नियमावलीअनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गर्ने अधिकार गृहमन्त्रीसँग रहने व्यवस्था छ। हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह (वालेन्द्र शाह) ले आफैं सम्हालिरहेका बेला सार्वजनिक भएको सरुवा सूचीमा एसएसपी शान्तिराज कोइराला को सरुवा विशेष विवादको विषय बनेको हो।

कोइराला यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको प्रमुखका रूपमा कार्यरत थिए। सरुवा सूचीअनुसार उनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको जिम्मेवारी दिइएको छ।

नेपाल प्रहरीले सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा आधारित सरुवा मापदण्ड लागू गरेको छ। कार्यभार, मुद्दाको चाप र जिम्मेवारीको प्रकृतिका आधारमा कार्यालयहरू वर्गीकृत गरिएका छन्। मापदण्डअनुसार ‘क’ श्रेणीको कमाण्ड गरिसकेको अधिकृतलाई पुनः अर्को ‘क’ श्रेणीको कमाण्डमा पठाइँदैन, बरु ‘ख’ वा ‘ग’ श्रेणीमा सरुवा गरिने व्यवस्था छ।

यसबाहेक, एउटा कमाण्डको नेतृत्व गरिरहेको अधिकृतलाई सोझै अर्को कमाण्डको प्रमुखका रूपमा पठाउने अभ्यास पनि मापदण्डविपरीत मानिन्छ। तर कोइरालाको हकमा भने दुवै व्यवस्था उल्लंघन भएको देखिएको छ। उनी ‘क’ श्रेणीको कार्यालयबाट अर्को ‘क’ श्रेणीकै कार्यालयमा सरुवा भएका छन् भने एक कमाण्डबाट सीधै अर्को कमाण्डको नेतृत्वमा पुगेका छन्।

प्रहरी स्रोतका अनुसार यसपटकको सरुवा सूचीमा कोइरालाबाहेक अधिकांश एसएसपीको सरुवा भने निर्धारित मापदण्डअनुसार नै गरिएको देखिन्छ।

यसैबीच, काठमाडौं उपत्यकाको सबैभन्दा संवेदनशील र आकर्षक मानिने काठमाडौं प्रहरी परिसरको नेतृत्व एसएसपी दिलीप घिमिरे ले पाएका छन्। २०५८ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका घिमिरे गत पुसमा मात्रै एसएसपीमा बढुवा भएका थिए। बढुवाको छोटो समयमै उनले देशकै सबैभन्दा चुनौतीपूर्ण सुरक्षा कमाण्डमध्ये एक मानिने काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

त्यस्तै, तुलबहादुर कार्की लाई ललितपुर प्रहरी परिसरको नेतृत्व दिइएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको कमाण्ड सुवास चन्द्र बोहोरा र मानव बेचबिखन अनुसन्धान ब्यूरोको नेतृत्व नकुल पोखरेल ले सम्हाल्ने भएका छन्।

नयाँ सरुवा सूची कार्यान्वयनसँगै प्रहरी संगठनभित्र नेतृत्व व्यवस्थापन र सरुवा मापदण्डको प्रभावकारिताबारे बहस समेत सुरु भएको छ। विशेषगरी शान्तिराज कोइरालाको सरुवाले प्रहरी प्रशासनमा मापदण्ड पालनाको विषयलाई पुनः चर्चामा ल्याएको छ।

Facebook Comments Box
TOP
204 Shares