

एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व तहको जिम्मेवारी हेरफेर सधैं चासोको विषय बन्ने गरेको छ। केही दिनअघि डीएसपी, एसपी र एसएसपीहरूको सरुवा सम्पन्न भए पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा अझै टुंगो नलाग्दा संगठनभित्र विभिन्न चर्चा र अपेक्षा बढ्न थालेका छन्।
नेपाल प्रहरीमा जनपदतर्फ आठ एआईजीको दरबन्दी रहेको छ। मानवस्रोत विकास विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय एआईजी नेतृत्वका प्रमुख निकाय हुन्।
विगतका अभ्यासअनुसार एआईजीहरूको जिम्मेवारी सामान्यतया ६ देखि ८ महिनाको अन्तरालमा परिवर्तन हुने गरेको देखिन्छ। कतिपय अवस्थामा चार महिनामै समेत सरुवा गरिएका उदाहरण छन्। तर हाल अधिकांश एआईजीहरूले एउटै जिम्मेवारी सम्हालेको सातदेखि १० महिनाभन्दा बढी समय बितिसक्दा पनि सरुवाको निर्णय हुन नसकेको अवस्था छ।
हाल एआईजी डा. मनोज केसी सीआईबी प्रमुखका रूपमा कार्यरत छन् भने एआईजी राजन अधिकारी मानवस्रोत विकास विभाग र एआईजी सिद्धिविक्रम शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा छन्। उनीहरू करिब १० महिनादेखि सोही जिम्मेवारीमा कार्यरत छन्। यस्तै एआईजी ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको सात महिनाभन्दा बढी भइसकेको छ।
असोज २४ गते पदस्थापन भएका एआईजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि हालसम्म एउटै जिम्मेवारीमा कार्यरत छन्। प्रहरी वृत्तमा कार्यसम्पादनका आधारमा अनुभवी र सक्षम मानिएका केही अधिकारीहरू महत्वपूर्ण जिम्मेवारीको पर्खाइमा रहेको चर्चा छ।
गृह मन्त्रालय स्रोतका अनुसार एआईजीहरूको जिम्मेवारी हेरफेरसम्बन्धी गृहकार्य अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, सीआईबी, मानवस्रोत विकास विभाग र प्रहरी एकेडेमीजस्ता महत्वपूर्ण निकायमा नेतृत्व यथावत् राख्ने वा नयाँ जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताइए पनि अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ।
प्रहरी संगठनभित्र नेतृत्व तहमा अवसर र जिम्मेवारीको घुम्ती प्रणाली (रोटेसन) कायम हुनुपर्ने धारणा लामो समयदेखि उठ्दै आएको छ। विभिन्न विभाग तथा कमाण्डमा अनुभव आदानप्रदान गराउने, कार्यसम्पादनमा प्रतिस्पर्धा बढाउने र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले समयानुकूल सरुवा आवश्यक मानिने गरिएको छ।
सुरक्षा प्रशासनका जानकारहरूका अनुसार नेतृत्व तहमा नियमित जिम्मेवारी हेरफेर हुँदा संगठनको कार्यसम्पादन थप प्रभावकारी बन्नुका साथै अनुभव र अवसरको सन्तुलित वितरणमा समेत सकारात्मक प्रभाव पर्छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनात्मक आवश्यकता अनुसार आवश्यक प्रस्तावहरू अघि बढाइरहेको र सरकारसमेत यस विषयमा सक्रिय रहेकाले एआईजी सरुवाको विषय छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी वृत्तमा भने अनुभवी तथा कार्यसम्पादनका आधारमा सक्षम मानिएका अधिकारीहरूलाई उचित अवसर प्रदान गरिनुपर्ने आवाज बढ्दै गएको छ। अब हुने निर्णयले प्रहरी संगठनभित्रको नेतृत्व व्यवस्थापन, जिम्मेवारी वितरण र कार्यसम्पादन संस्कृतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
५ घण्टा अगाडि
1.8kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



