काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा वृक्षारोपण गर्दै हरियाली प्रवर्द्धन अभियानलाई अघि बढाएको छ ।

महानगरपालिका उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाको आयोजनामा वडा नं १७ र १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटीलगायत स्थानमा ४४९ वटा बिरुवा रोपिएको हो । रोपिएका बिरुवामा समी, कपुर, धुपी, फलफूल तथा विभिन्न प्रजातिका फूलका बिरुवा समावेश छन् ।

लखतीर्थमा आयोजित वृक्षारोपण कार्यक्रममा महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डङ्गोलसहित स्थानीय सङ्घसंस्था तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी कङ्केश्वरी क्षेत्रमा भएको वृक्षारोपण कार्यक्रममा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक सङ्घ, ग्लोबल्ली कन्सर्न फर क्लाइमेट चेञ्जलगायत सामाजिक तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले यस वर्ष काठमाडौँ महानगरभित्र करिब पाँच हजार बिरुवा रोपिएको जानकारी दिएका छन् । उनका अनुसार हरियाली विस्तार, वातावरण संरक्षण र शहरी सौन्दर्य अभिवृद्धिका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइनेछ ।

काठमाडौँ महानगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

Facebook Comments Box
TOP
460 Shares