ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीको सरुवासँगै शुक्रबार एक विशेष समारोहबीच बिदाइ गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशअनुसार एसएसपी बोगटी जिल्ला प्रहरी परिसर ललितपुरबाट सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पदस्थापन भएका हुन्।

बिदाइ कार्यक्रममा बोल्दै एसएसपी बोगटीले आफ्नो कार्यकालमा सहयोग, समन्वय र जिम्मेवारीपूर्वक काम गर्ने सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि व्यावसायिकता, अनुशासन र सेवाभावलाई प्राथमिकता दिँदै उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा एसपी गौतम मिश्रले एसएसपी बोगटीलाई फूलमाला तथा शुभकामना प्रदान गर्दै ललितपुरमा रहँदा उनले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले नयाँ जिम्मेवारीमा पनि सफल कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरे।

प्रहरी अधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा एसएसपी बोगटीको सफल कार्यकालको स्मरण गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो। सहभागीहरूले उनको नेतृत्व, कार्यकुशलता र संगठनप्रतिको समर्पणको प्रशंसा गर्दै आगामी कार्ययात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

Facebook Comments Box
TOP
159 Shares