

बुद्धचित्त माला विवादमा काभ्रे प्रहरीको भूमिका विवादित, एग्रिमेन्टकर्ता पक्राउ परेपछि उठे गम्भीर प्रश्न
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ तिमाल क्षेत्रमा भएको बुद्धचित्त (रुद्राक्ष) मालाको कारोबार विवादले जिल्ला प्रहरी कार्यालय काभ्रेको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। वडाबाट प्रमाणित कागजातका आधारमा गरिएको भनिएको खरिद–बिक्री सम्झौता हुँदाहुँदै प्रहरीले एग्रिमेन्टकर्ता जोन लामालाई पक्राउ गरेपछि प्रहरीको निष्पक्षता र निर्णय प्रक्रियाबारे स्थानीयस्तरमा बहस सुरु भएको हो।
प्राप्त जानकारीअनुसार बुद्धचित्त मालाका तीन जना धनीको सहमतिमा जोन लामासँग करिब डेढदेखि दुई लाख रुपैयाँमा एग्रिमेन्ट गरिएको थियो। उक्त सम्झौता वडा कार्यालयबाट समेत प्रमाणित गरिएको बताइएको छ। सम्बन्धित पक्षका अनुसार उक्त कारोबारसँग सम्बन्धित कागजात वडा कार्यालयमा दर्ता भइसकेको थियो।
स्थानीय स्रोतहरूका अनुसार बुद्धचित्त बिक्रीसम्बन्धी कारोबार वडा कार्यालयमा दर्ता भएपछि त्यसमा लाग्ने राजस्व तथा कर तिर्नुपर्ने कानुनी व्यवस्था रहन्छ। तर यसअघि करिब एक वर्षअघि तीमध्ये एक धनीले सोही मालासम्बन्धी विषयमा २५ देखि ३० हजार रुपैयाँमा अर्को व्यक्तिसँग सामान्य कागज गरी सम्झौता गरेको र उक्त कागजात वडा कार्यालयमा दर्ता नभएको दाबी गरिएको छ।
विवाद बढ्दै गएपछि करिब दुई साताअघि विषय जिल्ला प्रहरी कार्यालय काभ्रेसम्म पुगेको थियो। स्रोतका अनुसार प्रारम्भिक छलफलका क्रममा प्रहरीले वडाबाट प्रमाणित कागजातका आधारमा अघि बढ्न सुझाव दिएको थियो। तर त्यसपछि परिस्थितिमा परिवर्तन आएको र वडाबाट अर्को कागज तयार गरिएको दाबी सम्बन्धित पक्षले गरेका छन्।
सोही नयाँ कागजातलाई आधार बनाएर प्रहरीले एग्रिमेन्टकर्ता जोन लामालाई पक्राउ गरेको आरोप लगाइएको छ। यस घटनापछि स्थानीय स्तरमा प्रहरीको भूमिकामाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्।
प्रश्न उठाउनेहरूको तर्क छ— यदि कारोबार प्रक्रियामा कुनै कानुनी त्रुटि भएको थियो भने त्यसको मुख्य जिम्मेवारी विक्रेता वा मालाका धनीमाथि जानुपर्ने हो। तर विक्रेतापक्षमाथि कुनै कारबाही नगरी एग्रिमेन्टकर्ता मात्रै पक्राउ गरिनुले शंकाको वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।
यसैबीच नेपाली कांग्रेस निकट युवा नेता रोशनराज पाण्डेयले पनि सामाजिक सञ्जालमार्फत काभ्रे प्रहरीको कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन्।
उनले फेसबुकमा लेखेका छन्, “यति सम्मको घृणित कार्य काभ्रे प्रहरी प्रमुखबाट हुन्छ भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। यो कानुनको शासनमाथिको उपहास, अधिकारको दुरुपयोग र नागरिकको विश्वासमाथिको गम्भीर प्रहार हो।”
घटनामा विशेषगरी जिल्ला प्रहरी कार्यालय काभ्रेका नायब उपरीक्षक (डिएसपी) रबिन बिष्टको भूमिकामाथि बढी प्रश्न उठिरहेको छ। स्थानीय स्रोतहरूले बुद्धचित्त माला विवादमा वडाबाट प्रमाणित भइसकेको कागजात हुँदाहुँदै अर्को कागज तयार गराउन दबाब दिएको आरोप डिएसपी बिष्टमाथि लगाएका छन्। यद्यपि यस आरोपबारे प्रहरीको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
डिएसपी बिष्ट यसअघि पनि विभिन्न कारणले चर्चामा आएका प्रहरी अधिकृत हुन्। उनी महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रहँदा बालाजु क्षेत्रमा भएको हिंसात्मक आन्दोलनका क्रममा उनको सरकारी गाडीसमेत आगजनीमा परेको थियो। त्यस घटनापछि उनको कमाण्ड क्षमतामाथि समेत प्रश्न उठेको थियो।
त्यसअघि रुपन्देहीमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहँदा पनि उनी आर्थिक अनियमिततासम्बन्धी विवादमा तानिएको चर्चा प्रहरी वृत्तमा हुने गरेको स्रोतहरूको दाबी छ। यद्यपि ती विषयमा कुनै अन्तिम कानुनी निष्कर्ष सार्वजनिक भएको देखिँदैन।
स्थानीय स्तरमा अहिले उठिरहेको मुख्य प्रश्न भनेको वडाबाट प्रमाणित भइसकेको पहिलो कागजातलाई किन बेवास्ता गरियो भन्ने हो। यदि पहिलो कागजात कानुनी रूपमा वैध थियो भने त्यसलाई छाडेर अर्को प्रक्रिया किन अघि बढाइयो र त्यसकै आधारमा पक्राउ किन गरियो भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ।
यस घटनामा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। कार्यालय प्रमुखको हैसियतले घटनाको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको पालना तथा विवादित निर्णयहरूको निगरानी गर्ने जिम्मेवारी उनकै हुने भएकाले जवाफदेहिताको प्रश्न उनीमाथि समेत आउने स्थानीयको भनाइ छ।
स्थानीय स्रोतहरूले डिएसपी बिष्टको सक्रियता अस्वाभाविक देखिएको दाबी गरिरहेका छन् भने कार्यालय प्रमुखका रूपमा एसपी कार्कीले पनि घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीलाई सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन।
यदि प्रहरी प्रशासनले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेमा त्यसलाई पनि समावेश गर्दै समाचार अद्यावधिक गरिनेछ।
समाज
थप सामाग्री-
विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप
-
भूमाफिया र जनप्रतिनिधि–कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?
-
एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
-
मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
-
३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१२ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…



