विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसासम्बन्धी ‘काउन्टर सेटिङ’ गरेको आरोपमा नेपाल वायुसेवा निगमका दुई जना ग्राउण्ड ह्याण्डलिङ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई आइतबार पक्राउ गरिएको हो । नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डलिङ स्टाफमार्फत विमानस्थलमा यात्रु व्यवस्थापनमा अनियमितता भएको सुराकका आधारमा अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।

अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रका आधारमा गरिएको अनुसन्धानपछि उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले एक भारतीय नागरिकलाई सुरुमा भारततर्फको बोर्डिङ पास उपलब्ध गराई सुरक्षा जाँच पार गरिसकेपछि पुनः दुबई जाने अर्को बोर्डिङ पास दिएर ‘काउन्टर सेटिङ’ गरेको देखिएको प्रहरीको दाबी छ ।

उक्त भारतीय नागरिक जेठ ३ गते दुबई प्रस्थान गरेको अध्यागमन रेकर्डमा देखिएको बताइएको छ । नेपालबाट तेस्रो मुलुक जानुपर्ने अवस्थामा भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेश गर्नुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरी बोर्डिङ पास उपलब्ध गराइएको अनुसन्धान निष्कर्षमा उल्लेख छ ।

प्रहरीका अनुसार इन्डिगो एयरलाइन्सको भारततर्फको बोर्डिङ पास र फ्लाई दुबईको दुबई जाने बोर्डिङ पास प्रयोग गरिएको देखिन्छ । साथै, सुरक्षा जाँचपछि इन्डिगोको बोर्डिङ पास फिर्ता लिएको दृश्य विमानस्थलको सिसिटिभी फुटेजमा देखिएको अध्यागमन विभागका एक अधिकृतले बताएका छन् ।

यसैबीच, यस प्रकरणमा अपराध अनुसन्धान कार्यालयका केही अधिकारीहरू र विमानस्थलका सम्बन्धित निकायबीच मिलोमतो भएको भन्दै स्रोत स्तरबाट आरोपसमेत उठाइएको छ । यद्यपि, यसबारे औपचारिक पुष्टि नभएकाले सम्बन्धित निकायबाट थप अनुसन्धान आवश्यक देखिएको छ ।

Facebook Comments Box
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
११ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…

TOP
15 Shares