अमेरिकामा विश्वकपको ३२ वर्षे यात्रा : १९९४ देखि २०२६ सम्मको व्यापक परिवर्तन

काठमाडौं । अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्न ३२ वर्षको प्रतीक्षा पूरा गरेको छ। सन् १९९4 मा पहिलोपटक विश्वकप आयोजना गरेको अमेरिका अहिले क्यानडा र मेक्सिकोसँग संयुक्त रूपमा सन् २०२६ को विश्वकप आयोजना गर्दैछ।

तीन दशकभन्दा लामो अन्तरालमा विश्वकपको स्वरूप, संरचना र व्यवस्थापनमा उल्लेखनीय परिवर्तन देखिएको छ। सन् १९९४ मा २४ टोली सहभागी भएको विश्वकपमा ५२ खेलमार्फत उपाधिको छिनोफानो गरिएको थियो। त्यस समय फाइनल खेलको सबैभन्दा महँगो टिकट ४७५ अमेरिकी डलर रहेको थियो।

तर अहिलेको विश्वकप पूर्ण रूपमा फरक स्वरूपमा विस्तार भएको छ। २०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने कुल १०४ खेल आयोजना हुनेछन्। फिफाले नयाँ संरचनाअनुसार राउन्ड अफ ३२ चरण समेत थप गरेको छ। यस संस्करणको विजेता टोलीले उपाधि जित्न कम्तीमा आठ खेल खेल्नुपर्नेछ।

स्टेडियम मापदण्डमा पनि उल्लेखनीय सुधार गरिएको छ। सन् १९९४ मा फिफाले ६८ मिटर चौडाइ र १०५ मिटर लम्बाइको मैदान अनिवार्य गरेको थियो। अहिले पनि सोही मापदण्डलाई कडाइका साथ लागू गरिएको छ, तर सुविधा र प्रविधिमा व्यापक सुधार गरिएको छ।

सन् १९९४ मा ९ रंगशालामा आयोजना भएको विश्वकपले करिब ३५ लाख ९० हजार दर्शकलाई प्रत्यक्ष रूपमा आकर्षित गरेको थियो। तर यसपटक ३ देशका १६ रंगशालामा खेलहरू आयोजना हुनेछन् र ६० देखि ७० लाखभन्दा बढी दर्शक पुग्ने अनुमान फिफाले गरेको छ।

व्यावसायिक पक्षमा पनि ठूलो परिवर्तन देखिएको छ। अहिले रंगशालाहरूमा लक्जरी सुइट र प्रिमियम सिटको व्यवस्था गरिएको छ, जसले दर्शक अनुभवलाई अझ उच्चस्तरीय बनाउने अपेक्षा गरिएको छ।

खेल नियमहरूमा पनि आधुनिकता थपिएको छ। प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ राखिएको छ, जसलाई प्रशिक्षकहरूले रणनीति बनाउने अवसरका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।

खेलाडी परिवर्तन नियम पनि विस्तार गरिएको छ। पहिले दुई खेलाडी मात्र परिवर्तन गर्न पाइने व्यवस्था थियो भने अहिले गोलरक्षकका लागि अतिरिक्त परिवर्तनसहित पाँच खेलाडी परिवर्तन गर्न सकिन्छ। अतिरिक्त समयमा छैटौँ परिवर्तनको सुविधा र टाउकोमा चोट लागेमा थप खेलाडी परिवर्तनको व्यवस्था पनि गरिएको छ।

तीन दशकको अन्तरालमा विश्वकप केवल प्रतियोगिता मात्र नभई प्रविधि, व्यवस्थापन र व्यावसायिकताको विशाल परिवर्तनको प्रतीक बनेको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
९ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
347 Shares