जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनाभरि अण्डाको समर्थन बिक्री मूल्य चार पटकसम्म वृद्धि गरेको छ। उत्पादन लागत बढ्दै गएको, दानाको मूल्य उच्च रहेको तथा बजार व्यवस्थापनको आवश्यकता देखाउँदै सङ्घले विभिन्न चरणमा बैठक गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ फार्म समर्थन मूल्यअनुसार जेठ महिनाको सुरुदेखि अन्त्यसम्म आइपुग्दा एक्सएल, ठूलो र मिडियम साइजका अण्डाको मूल्य प्रति क्रेट ४५ रुपैयाँले बढेको छ भने सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले वृद्धि भएको छ।

सङ्घले पहिलो चरणमा जेठ ४ गतेदेखि लागू हुने गरी एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ, ठूलो अण्डाको ५१५ रुपैयाँ, मिडियम अण्डाको ४८५ रुपैयाँ तथा सानो अण्डाको प्रति पेटी २ हजार ७ सय रुपैयाँ कायम गरेको थियो।

त्यसपछि बनेपा र काठमाडौँमा सम्पन्न बैठकले पुनः मूल्य समायोजन गर्दै जेठ १२ गतेदेखि एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५४५ रुपैयाँ, ठूलो अण्डाको ५३० रुपैयाँ, मिडियम अण्डाको ५०० रुपैयाँ तथा सानो अण्डाको प्रति पेटी २ हजार ९ सय रुपैयाँ निर्धारण गर्यो।

मूल्य वृद्धिको क्रम यतिमै रोकिएन। जेठ २२ गते काठमाडौँमा सम्पन्न बैठकको सिफारिसका आधारमा जेठ २३ गतेदेखि लागू हुने गरी तेस्रो पटक मूल्य बढाइयो। उक्त निर्णयअनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रति पेटी ३ हजार रुपैयाँ कायम गरियो।

सङ्घले जेठ २८ गते पुनः बैठक बसेर चौथो पटक मूल्य संशोधन गर्दै सोही दिनदेखि एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५७५ रुपैयाँ, ठूलो अण्डाको ५६० रुपैयाँ, मिडियम अण्डाको ५३० रुपैयाँ तथा सानो अण्डाको प्रति पेटी ३ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ।

यसरी एक महिनाको अवधिमै उत्पादक तहको मूल्यमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताका लागि सिफारिस गरिएको खुद्रा मूल्य भने परिवर्तन गरिएको छैन। सङ्घले हाल पनि अण्डाको खुद्रा बिक्री मूल्य प्रति गोटा २५ रुपैयाँ कायम राखेको छ।

अण्डाको फार्म मूल्य निरन्तर बढिरहँदा बजारमा यसको प्रत्यक्ष प्रभाव कति पर्छ भन्ने विषयमा उपभोक्ताको चासो बढेको छ। उत्पादकहरूले लागत वृद्धि नियन्त्रण नभएसम्म मूल्य समायोजनको आवश्यकता रहने बताइरहेका छन् भने उपभोक्ता पक्षले बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

अण्डाको मूल्यमा भएको यो लगातारको वृद्धिले कुखुरापालक किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको भए पनि आगामी दिनमा खुद्रा बजारमा समेत मूल्य बढ्न सक्ने संकेत देखिएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
135 Shares