प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड

काठमाडौं, भृकुटीमण्डप — नेपाल प्रहरीको संगठनात्मक सुदृढीकरण, अपराध नियन्त्रणमा प्रभावकारिता अभिवृद्धि तथा बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्ने उद्देश्यसहित ‘प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३’ बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनलाई नेपाल प्रहरीको भावी रणनीति, कार्यदिशा तथा सुधार योजनाको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

सम्मेलनलाई सम्बोधन गर्दै आईजीपी कार्कीले कार्यक्रममा उठाइएका विषयवस्तु, प्रस्तुत सुझाव तथा निष्कर्षहरू नेपाल प्रहरीको आगामी कार्यदिशा निर्धारणमा आधारभूत मार्गदर्शन हुने स्पष्ट पारे। उनले संविधान, प्रचलित कानुन तथा सरकारका प्राथमिकता अनुरूप नागरिक सेवामा निष्पक्षता, व्यावसायिकता र उच्च उत्तरदायित्वका साथ प्रहरी कर्मचारीहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

उनका अनुसार अपराधको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको वर्तमान परिस्थितिमा परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन, आर्थिक अपराध तथा सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र दुष्प्रचारजस्ता चुनौतीहरू नियन्त्रणमा थप सक्रिय र आधुनिक दृष्टिकोण आवश्यक छ।

आईजीपी कार्कीले यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी संगठन अझ चुस्त, समन्वित र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। उनले अपराध अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै डिजिटल फरेन्सिक क्षमता विस्तार, सूचना संकलन प्रणालीको आधुनिकीकरण तथा अनुसन्धान प्रक्रियालाई वैज्ञानिक बनाउने आवश्यकता औंल्याए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराधप्रति विशेष संवेदनशीलता अपनाउँदै पीडितमैत्री प्रहरी सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि उनले दोहोर्याए। यसका लागि प्रहरी व्यवहार, सेवा प्रवाह र अनुसन्धान प्रक्रियामा मानवीय संवेदनशीलता अनिवार्य हुने उनको भनाइ थियो।

समुदायसँगको सहकार्यलाई प्रहरी कार्यको आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै आईजीपी कार्कीले स्थानीय समुदाय, नागरिक समाज र सम्बन्धित निकायहरूसँगको समन्वयलाई थप सुदृढ बनाउँदै प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए। उनका अनुसार समुदाय–प्रहरी साझेदारीले अपराध रोकथाम र सामाजिक शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

सम्मेलनमा विगतका अनुभव आदान–प्रदान, सूचना संकलन प्रणाली, असल अभ्यास, स्रोत–साधनको उपयोग, प्रविधिको प्रभावकारी प्रयोग तथा अन्तरसुरक्षा निकायबीचको समन्वयजस्ता विषयमा विस्तृत छलफल गरिएको थियो। आईजीपी कार्कीले यी सबै निष्कर्षलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै संगठनलाई थप परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राखेका थिए।

सम्मेलनमा नेपाल प्रहरीका विभिन्न निर्देशनालय, उपत्यका प्रहरी कार्यालय, अपराध अनुसन्धान कार्यालय, ट्राफिक प्रहरी निर्देशनालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्ना कार्यक्षेत्रसँग सम्बन्धित प्रस्तुतीकरण गरेका थिए।

त्यसैगरी प्रहरी नायव महानिरीक्षक, वरिष्ठ अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी तथा उपत्यकास्थित प्रहरी वृत्त र प्रभागका प्रमुखहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल प्रहरीले शान्ति सुरक्षा कायम राख्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै सम्मेलनलाई संगठनात्मक सुधार र भविष्यका रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विकास र बढ्दो जनअपेक्षालाई ध्यानमा राख्दै प्रहरी कार्यलाई अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यका साथ आयोजित यो सम्मेलनले संगठनलाई आधुनिक, सक्षम र जनमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१४ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
155 Shares