अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण र कानुनको निष्पक्ष कार्यान्वयनमा कुनै सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले अपराधी पक्राउ गर्दा व्यक्तिगत चिनजान, सहानुभूति वा अनावश्यक ‘हार्दिकता’ देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै कानुनले तोकेको प्रक्रिया अनुसार हात पछाडि पारेर हतकडी लगाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन्।

गत बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित उपत्यका प्रहरी कार्यालयको कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले अपराधीप्रति नरम व्यवहारभन्दा कानुनी प्रक्रिया नै सर्वोपरि हुने स्पष्ट सन्देश दिएका हुन्। उनले प्रहरीको मुख्य जिम्मेवारी कानुनको निष्पक्ष कार्यान्वयन भएकाले पक्राउ प्रक्रिया पनि कानुनी मापदण्डअनुसार हुनुपर्ने बताए।

आईजीपी कार्कीको यो निर्देशनलाई धेरैले नेपाल प्रहरीभित्र व्यावसायिकता, अनुशासन र कानुनी शासनलाई थप मजबुत बनाउने कदमका रूपमा हेरेका छन्। विगतमा केही घटनामा पक्राउका क्रममा फरक–फरक व्यवहार देखिएको भन्दै आलोचना हुने गरेको अवस्थामा कार्कीको स्पष्ट निर्देशनले अब सबै व्यक्तिलाई समान कानुनी प्रक्रिया लागू हुने अपेक्षा बढाएको छ।

प्रहरी संगठनभित्र पनि नेतृत्वले दिएको यस्तो स्पष्ट सन्देशले कार्यक्षेत्रमा रहेका प्रहरी कर्मचारीलाई निर्णय लिन सहज हुने विश्वास गरिएको छ। अपराधको प्रकृति वा पक्राउ पर्ने व्यक्तिको हैसियतभन्दा माथि कानुन हुने सिद्धान्तलाई व्यवहारमै लागू गराउने प्रयासका रूपमा आईजीपी कार्कीको निर्देशनलाई हेरिएको छ।

सुरक्षा विश्लेषकहरूका अनुसार पक्राउ प्रक्रियामा एकरूपता कायम हुँदा प्रहरीमाथिको जनविश्वास थप मजबुत बन्ने, कानुनी विवाद कम हुने तथा मानवअधिकारको मापदण्डसमेत स्पष्ट रूपमा पालना गर्न सहयोग पुग्नेछ। कानुनले तोकेको प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको व्यक्तिको सुरक्षा र प्रहरीको जवाफदेहितासमेत सुनिश्चित हुने उनीहरूको भनाइ छ।

आईजीपी कार्कीले नेतृत्व सम्हालेपछि प्रहरी संगठनमा अनुशासन, व्यावसायिकता, पारदर्शिता र कानुनी शासनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्देशन जारी गर्दै आएका छन्। पछिल्लो निर्देशन पनि त्यही अभियानको निरन्तरता भएको धेरैको बुझाइ छ।

अपराध नियन्त्रणमा प्रभावकारीता बढाउने, कानुन कार्यान्वयनमा समानता कायम गर्ने र प्रहरी संगठनलाई अझ जिम्मेवार तथा व्यावसायिक बनाउने उद्देश्यका साथ आएको यो निर्देशनले नेपाल प्रहरीलाई थप सक्षम, विश्वसनीय र परिणाममुखी संगठन बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
२० घण्टा अगाडि

2.0kViews 350 Shares Share on Facebook Share on Twitter निर्जला एकादशीलाई पाण्डव भीम एकादशी वा पाण्डव निर्जला एकादशी पनि भनिन्छ।…

TOP
282 Shares