

सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय
भरतपुर । यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । उनका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउँदैछन् ।“चेपाङ सङ्घको तर्फबाट उत्सवका रुपमा सामूहिक रुपमा पर्व मनाउन लागिएको हो”, उनले भने, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने ईच्छाकामना गाउँपालिका वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्गो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् ।
नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ ।
चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वाँगी पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।
चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।रासस
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





