

बिपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ…
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बिपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।“घर बनेपछि यो कोठामा बिपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।विसं २००६ मा बन्दीपुरमा प्रधानको बिपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउछन् ।
“घर बनेदेखि बिपी यही घरमा बस्नुभएको हो”, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बिपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर विसं २०२६ मा निर्माण भएको हो ।
घरको पहिलो तलामा आराम गरिरहेकी प्रधानले भनिन्, “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको बताइन् ।
बिपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो । कहिले के हुन्छ थाहा हुँदैनथ्यो । त्यो बेला सम्झँदै उनले भनिन्, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो ।” बिपी कतिपटक घरमा आउनुभयो उहाँलाई यकिन सम्झना छैन । उनले भनिन्, “कति आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा यही बस्नुहुन्थ्यो ।” सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिन्थे ।
सादा खाना बिपी बाबुले खाने गरेको प्रधान बताउछिन् । उनले भनिन्, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने रु तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” बिपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ बिपी भन्थे, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” बिपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने विपीको स्वभाव थियो ।
प्रधानले भनिन्, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” बिपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बिपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”
बिपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिनन्, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, “विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ?”
ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनले अहिले पनि ताजै छ ।
गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बिपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा बिपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्यो ।
बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, “बिपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।” आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, “म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।” सबैले विपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, “सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।”रासस
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





