पूर्वाधारमा फड्को मार्दै काभ्रेको महाभारत गाउँपालिका

धुलिखेल । नागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । तर संघीयतापछि काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरी खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र बस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घटौँको बाटो हिँड्नुपर्ने बाध्यता विस्तार दूर हुँदै गएको छ ।विगतमा यहाँका बासिन्दाको लागि उत्पादन गरेको कृषिजन्य वस्तुको विक्री तथा आङ छोप्न आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न एक/दुई दिनको पैदल यात्रापछि मात्रै मुख्य सहर र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले स्थानीय तहको नेतृत्वमा युवा जनशक्तिले विकासको बागडोर सम्हालेपछि जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको बल्ल मुहार फेर्दै गएको हो ।

यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्रीको लागि सिंढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुललगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोड्ने कार्यको थालनीसँगै नयाँ मुहार फेर्नुका साथै सुविधासमेत उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् ।

पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको लागि प्रत्यक्ष अनुभूति हुने विकासका आधारहरु भएको उनीहरुको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) का महाभारत गाउँपालिका कमिटी इञ्चार्ज एवं स्थानीयवासी सुजन तामाङले संघीय संरचनामा गएपछिको पहिलो पाँच वर्ष र अहिलेको दोस्रो कार्यकालको सुरुआतसम्म आइपुग्दा डाँडापारिका नागरिकले प्रत्यक्ष अनुभूति हुने खालको विकास आयोजना महसुश हुने गरी उपभोग गर्न पाएको बताए ।

“पहिला हामीले भूगोलले विकासलाई छेक्न सकिदैन, इच्छाशक्ति र त्यसको सही नेतृत्व पाउने अवस्थामा गाउँघरको मुहार फेर्न सकिने विचार र योजना जनतालाई सुनाएका थियौँ, अहिले त्यही अनुसारको काम गरेर परिणाम देखाइरहेका छौँ”, उनले भने, “त्यो हाम्रो सपना थियो, अहिले विपनामा परिणत गरेर नागरिकको जीवनस्तरमा परिवर्तन हुने खालको काममा सहयोग पुर्याइरहेका छौँ ।”

गाउँको विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजना बल्ल सुरु भएको महाभारत गाउँपालिका–५ का पूर्ववडाध्यक्ष रविन मोक्तानले बताए । ‘‘महाभारत, रोशी, खानीखोलालगायतका पालिका एवं जिल्लाकै लागि बहुप्रतिक्षित आयोजना निर्माणमा महाभारत गाउँपालिका अनि जिल्लास्थित कार्यालयको समन्वयमा जुट्दै अघि बढेको छ’’ उनले भने, “अझ धेरै नयाँ विकाय आयोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार यसरी नै आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।”

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको योजना बोकेर अगाडि बढिरहेको बताए । पछिल्लो समयमा दोस्रो चरणको पक्की सडकखण्ड निर्माणका लागि आवश्यक सहयोग र समन्वयमा खटिरहेको उनले बताए । “हामी निरन्तर काममा नै लागिरहेको छौँ र लागिरहने पनि छौँ”, उनले भने, “मिसन २०८४ मात्रै होइन, बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग) को निर्माण गर्नुछ ।”

उनका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमि सडकका लागि करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएर ढलान तथा कालोपत्रेसमेतको कार्यलाई छिटै निर्माण कार्य अगाडि बढाइने भएको छ ।

यसअघि पालिकाको तीनखुट्टे–देवीटार सडकखण्डको आठ किमिमध्ये केही भाग कालोपत्रे भइरहेको र बाँकी काम निरन्तर रहेको छ भने केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरणको लागि केही वडाहरुमा बत्ती बालिसकेको र बाँकी वडाहरुमा काम द्रूतगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै पक्की सडक सञ्जालले नछोएको डाँडापारिका गर्भवती र सुत्केरीका बेलामा महिलालाई हुने जटिलतामा नयाँ जीवन दिनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गर्ने कार्य प्रशंसनीय बनेको छ ।

एक घर एक खानेपानी धाराअन्तर्गत ६ र ५ मा आयोजना सम्पन्न भइसकेको र वडा नं. १ र २ मा निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत आव २०७९/८० मा मात्रै करिब एक लाख कफीको बिरुवा रोप्ने काम भएको  गाउँपालिका अध्यक्ष जिम्बाले बताएका छन् । रासस

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
५ घण्टा अगाडि

1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares