एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?

काठमाडौं । प्रहरीको कार्यालयमा किन गइन्छ ? अनी, त्यहाँ जाने अधिकांश व्यक्ति कस्ता हुन्छन् ? सायद त्यसको जवाफ जोकसैसँग छ । प्रहरीमा जाने अनी लगिने अवस्था पनि फरक पर्छ । जाने अधिकांश व्यक्तिहरु समस्या वा पिडामा परेका हुन्छन् भने लगिनेहरु विभिन्न अपराधमा मुछिएका वा आशंका गरिएका वा कोही कसैलाई समस्यामा पार्नेहरु पनि हुन्छन्, जसलाई प्रहरीले बोलाएको वा लगेको हुन्छ ।
तर, काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीलाई त्यो जानकारी नभएर हो वा बढी जानेर हो ? उहाँले हिजो आज त्यहाँ नयाँ सिस्टम लागू गर्नु भएछ । त्यो पनि झ्याउ लाग्दो ।
नयाँ सिस्टम अनुसार प्रहरी परिसर, काठमाडौंको कार्यालयमा पुग्ने आगन्तुकले लाईन बसेर, आफू त्यहाँ जानुको कारण सहितको आफ्नो पूर्ण विवरण टिपाएर अनी त्यहाँबाट दिइने कुपन लिएर मात्र अगाडी बढ्ने अनूमती प्राप्त हुँदोरहेछ । जागिर नै खुले जसरी विवरण माग्ने प्रहरीले आगन्तुकसँग परिचय-पत्र माग्नुका साथै उसको शैक्षिक योग्यतादेखि नागरिकता नम्बर, स्थायी ठेगाना, जिल्ला, प्रदेशसम्म सोधपुछ गर्दा रहेछन्, ड्यूटीमा खटिएका प्रहरीले । आगन्तुकको लाइन बाहेकको समय गणना नगर्दा पनि आफ्नो पालो आए पछि पनि झण्डै ३-४ मिनेटको विवरण बताइसकेपछि नम्बर लेखिएको कुपन प्राप्त हुन्छ, अनी पाइन्छ अगाडी बढ्न ।
कम्तीमा यस्तो सिस्टम लागू गर्नु अघि त्यो त बुझ्नु पर्छ कि प्रहरीमा जानेहरु परिचय-पत्र नभएका पनि हुन्छन्, अनपढ वा ‘सालेप’ अथवा उच्च डिग्री हासिल गरेका पनि हुन्छन् । त्यो सोध्नुको अर्थ के ?
अचम्म ! एसएसपी सा’पले त्यस्तो सिस्टमको शुरुवात किन होला गरेको ? त्यसको उपलब्धी भनेको मात्रै आज यती सेवाग्रही परिसरमा आए भनेर तथ्याकं राख्नु बाहेक अरु केही उपलब्धी छ ? त्यसमा पनि आगन्तुक मध्ये पैदल आउनेको मात्रै त्यहाँ विवरण सोधपुछ हुने हो, मोटरगाडीमा हुँइकिएर आउनेहरु त तलै पार्किङ्गबाट लिफ्टमा माथि पुगिहाल्छन् ।
आज दिनभरीमा कती जना आगन्तुक आए भनेर तथ्याकं केलाउनका लागि मात्रै हो भने त्यो जरुरी छैन एसएसपी सा’प । किनकी, प्रहरीको कार्यालयमा आउने आगन्तुक मध्ये ९० प्रतिशत सेवाग्राही कुनै न कुनै समस्यामा परेर वा गुनासो पोख्न आउँछन् भने १० प्रतिशत आगन्तुक भेटघाट वा अन्य काम विशेषले आउने गरेका होलान् । त्यो पनि कुनै गोप्य सूचना वा महत्वपूर्ण जानकारी दिन आउनेले सकेसम्म आफ्नो विवरण दिन चाहाँदैनन् पनि । अनी, आफूलाई परेको समस्या सुनाउन आउने सेवाग्राहीलाई आधा घन्टा बढी तलतिरै रोकेर अनावश्यक विवरण सोधपुछ गरेर के उपलब्धी हुन्छ एसएसपी सा’प ?
तपाईंलाई बढुवाको मुखमा के गरुँ-गरुँ जस्तो लागेको छ भने बरु, त्यसरी आउने सेवाग्राही फर्केर जाने क्रममा तपाईं किन आउनु भएको ? तपाईंको समस्या वा गुनासो सम्वोधन भयो कि भएन ? सम्वन्धित अधिकारीले आवश्यक सहयोग गरेकी गरेनन् ? के विषयमा कस्लाई भेट्नु भो ? जस्ता प्रश्न सोध्न लगाउनुस् न ! अनी बल्ल विवरण दिनेले खुसीखुसी दिन्छन्, तपाईंलाई धन्यवाद पनि भन्छन् । अहिलेको तपाईको निर्देशन त “काम पाइनस् बुहारी…” भनेजस्तो भो !
अझै सकिन्छ भने आफू प्रमुख रहेको कार्यालयमा समस्या लिएर आउने सेवाग्राहीको गुनासो सम्वन्धित अधिकारीबाट सम्वोधन भइरहेको छ वा छैन ? सेवाग्राही सन्तुष्ट देखिन्छ/देखिन्न ? त्यो सिसिटीभीबाट नियाल्नुस्, निगरानी गर्नुस्, ता कि आफ्नै प्रहरी अधिकारी पनि सतर्क रहुन्, सेवाग्राहीप्रति थप जवाफदेही बनून् ।
केही दिन अघि पढेको थिएँ ‘प्रहरी मेरो साथी’को प्रणेता मै हुँ भनेर पनि खुवै प्रचार गर्नु हुन्छ रे ! सस्तो लोकप्रियताका लागि होइन ?
संगठन र सेवाग्राहीले स्मरण गरिराख्ने खालका कार्यक्रम अघि सार्नुस्, ताकि तपाईंले सारेका कार्यक्रमले सेवाग्राहीलाई सन्तुष्टि दिओस्, झन्झट होइन् ।
यसै त तपाईं प्रमुख रहेको कार्यालय अर्थात् प्रहरी परिसर भवन सेवाग्राहीका लागि यसै पनि असुविधाजनक छ, तपाईंहरुका लागि सुविधाजनक भए पनि । सामान्य नागरिक जो लिफ्ट बारे जानकारी नै छैन, उनीहरुलाई तपाईं समक्ष पुग्न पाँच तला भर्याड्ग चड्नु पर्छ । त्यहाँ पुगिसकेर पनि भेटघाट पाउन अझै कति कुर्नु पर्ने हो ?
नागरिककै सेवा-सुविधाका लागि त्यो अत्याधुनिक भवन थियो भने सेवाग्राहीका काम पर्ने फाँट, उनीहरुले भेट्नु पर्ने तपाईं लगायतका प्रहरी अधिकारी पहिलो वा दोस्रो तलामै बस्नु पर्ने होइन र ?
त्यसैले त “माल पाएर चाल नपाएपछि” भन्ने कहावत काठमाडौं परिसरको अत्याधुनिक भवन तर्फ पनि संकेत गर्न सकिन्छ ।

Facebook Comments Box
TOP
328 Shares