

सरकार भन्छ–नेपाल खुल्ला दिसापिसाबमुक्त तर उपत्यकाभित्रै दलका कार्यकर्ता खुल्ला रुपमा गरिरहेका छन् शौच
भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्दछ । भक्तपुर नेपालकै सानो जिल्लासमेत हो । यहाँ दुईटा निर्वाचन क्षेत्र छन् । भक्तपुरमा विश्व सम्पदामा सूचीकृत मठमन्दिर, सम्पदा धेरै पाइन्छन् । यहाँको जमिन खेतीपातीका निम्तिसमेत निकै उर्वर मानिन्छ । तर, अहिले प्रायजसो जमिनमा घर र बाटो बनिसकेको छ ।
सानो जिल्ला भएपनि भक्तपुरमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, आर्यघाट, वनजंगल, तालपोखरी, हदबन्दी बढीलगायतका जग्गा थुप्रै थिए । राजपरिवारको जग्गासमेत यहाँ थियो । तर, अहिले ती सबै जग्गा व्यक्तिका नाममा गइसक्यो । कतिपय नभएपनि व्यक्तिकै कब्जामा छ ।
भक्तपुरमा ढुंगेधारा, कुँवा, इनार, पाटीपौवा, चौतारा पनि पर्याप्त थिए । अहिले यी सम्पदा कतिपय मासिएका छन् त कतिपय जीर्ण अवस्थामा पुगेका छन् । भक्तपुर क्षेत्र नम्बर १, अन्तर्गत भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लघारी तीनकुनेमा ठूलो खाली चौर छ । यो जग्गाको कुल क्षेत्रफल एक सय आठ रोपनी दुई आना एक दाम छ ।
वि.सं.२०२४ सालमा तत्कालिन राजा महेन्द्रले आफ्ना कान्छा छोराका निम्ति यो जग्गा प्रतिरोपनी एक हजार रुपैयाँमा स्थानीयसँग किनेका थिए । ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा आएको छ । तर, ट्रष्ट यो जग्गाबारे बेखबर छ । जसको फाइदा मजदुर किसान पार्टी र तिनका कार्यकर्तालाई भइरहेको छ ।
एक सय आठ रोपनी जग्गामध्ये अहिले बढीमा ६०–६५ रोपनीमात्र बाँकी छ । अन्य जग्गा कब्जा गरेर मजदुर किसान पार्टीका कार्यकर्ताले ठूल्ठुला घर ठड्याएका छन् । अहिले यहाँ जग्गाको मूल्य आनाकै २५ लाखदेखि तीन करोडसम्म छ । यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको ११ औं महाधिवेशन सल्लाघारी तीनकुनेको यही खाली चौरमा हुँदैछ ।
महाधिवेशनका निम्ति मंसिर २०–२१ ग्तेदेखि नै तयारी शुरु भएको हो । अहिले धमाधम तयारी भइरहेको छ । सल्लाघारी तीनकुनेको खाली चौरमा कराँते, ड्राइभिङ सिकाउनेदेखि चटपट, चिया, बदम बेचबिखन गरिन्छ । घाम ताप्न वृद्धवृद्धाहरु तथा फुटबल, क्रिकेट खेल्न युवा, बालबच्चाहरु आउने गरेका छन् । तर, अहिले त्यहाँ बस्नै नसक्ने अवस्था सिर्जना भएको छ ।
एमालेले मजदुर खटाएर महाधिवेशनका लागि स्टेज बनाउने, अध्यक्ष केपी शर्मा ओलीको फोटो टाँस्ने काम गरिरहेको छ । ती मजदुर दिनभर खट्छन् । त्यहाँ आसपास एउटै सार्वजनिक शौचालय छैन । अनि चौरमै खाल्डो खनेर दिसापिसाब गरिरहेको अवस्था छ । जसका कारण पूरै चौर नै दुर्गन्धित र फोहोर बनेको छ ।
एकातिर चौरमा खुल्ला रुपमा दिसापिसाब गर्दा त्यहाँ आउने मानिसहरुलाई हेर्न लाजमर्दो भएको छ, अर्कोतिर जताततै दिसापिसाब गर्दा चौरमा जानै नसक्ने अवस्था सिर्जना भएको छ । सल्लाघारी चौरमा घाम ताप्न भनेर पुगेका एक व्यक्तिले भने, ‘अब त यहाँ आउँदिन । एमालेका कार्यकर्ता र मजदुरले जथाभावी दिसापिसाब गरे । न हिँड्ने सक्ने अवस्था छ न बस्न । यस्तै रहिरहे महामारी फैलिन्छ ।
एमालेले महाधिवेशन भव्य रुपमा मनाउने दाबी गर्दै आएको छ । तर, महाधिवेशनका कारण सल्लाघारीबासी रोगी बन्ने चाँहि पक्का छ । एमाले कार्यकर्ता र मजदुरको दिसापिसाबले यहाँ महामारी फैलाउने सम्भावना बढ्दै गएको छ । सरकारले नेपाललाई दशकअघि खुल्ला दिसापिसाबमुक्त घोषणा गरेको थियो । तर, मुलुककै प्रमुख राजनीतिक दलका कार्यकर्ताले खुल्ला रुपमा दिसापिसाब गर्दा यसबारे गम्भीर प्रश्न उब्जिएको छ ।
अर्कोतिर मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ । मजदुरका अध्यक्ष नारायणमान बिजुक्ँछे, पूर्वसांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफूहरुले भक्तपुरमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । अनि मानिसको अधिक चहलपहल हुने स्थानमा एउटा सार्वजनिक शौचालय समेत नबनाउनु कस्तो विकास हो ?
सल्लाघारीमा मात्र होइन, भक्तपुरका अन्य ठाउँमा पनि कतै सार्वजनिक शौचालय भेटिँदैन । जबकी भक्तपुरमा पाँचतले मन्दिर, पञ्चपन्ने झयाल, सुनको ढोका, दत्तात्रय मन्दिरलगायत सम्पदा हेर्न दिनहुँ हजारौंको संख्यामा सवदेशी र विदेशी पर्यटक आउने गरेका छन् । तर, उनीहरुलाई दिसापिसाब लागेमा जाने ठाउँ नै छैन । एउटै सार्वजनिक शौचालय यहाँ बनाएको पाइँदैन ।
यसले पर्यटकलाई असर पर्नुका साथै विदेशीसामु नेपालकै बेइज्जत हुन पुगिरहेको छ । सल्लाघारी तीनकुनेको चौरमा भक्तपुर नगरपालिका र मजदुर किसान पार्टीको रजाईं चलिआएको छ । जग्गा नेपाल ट्रष्टको भएपनि भाडा चाँहि नगरपालिकाले असुल्दै आएको छ । हरेक वर्ष सल्लाघारी चौरमा विभिन्न जिल्लाबाट खसीबोका ल्याएर बेचबिखन गरिन्छ ।
त्यसरी खसीबोका बेचेबापत व्यापारीसँग नगरपालिकाले एक साताकै ४५ हजारदेखि लाखौं रकम असुल्यो । यहाँ कराँते, ड्राइभिङ सिकाएको पनि रकम नगरपालिकाले उठाउने गरेको छ । तर, त्यसरी असुलेको रकम फेरि नगरपालिकाको खातामा नगई मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्ँछे, सुवाल, प्रजापतिलगायतको गोजीमा जाने गरेको छ ।
सल्लाघारी चौरमा दिनहुँ हजारौं सर्वसाधारण आउँछन् । फुटबल, क्रिकेट, कराँते सिक्ने, विभिन्न खानेकुरा बेचबिखन गर्ने पनि उत्तिकै हुन्छ । उनीहरु यहाँ घण्टौ बस्छन् । अनि केही गरी दिसापिसाब लागेमा खुल्ला रुपमै गरिन्छ । अनि यस्तो व्यस्त ठाउँमा नगरपालिकाले एउटै सार्वजनिक शौचालय नबनाउनुको कारण के हो ?
०८१ फा गुन १६ गतेदेखि १९ गतेसम्म मजदुर किसान पार्टीले आठौं महाधिवेशन यही जग्गामा गरेको थियो । त्यतिबेला पनि खाल्डा खनेरै दिसापिसाब गरिएको थियो । पछि त्यो खाल्डा नपुर्दा त्यहाँ बस्नै नसक्ने अवस्था सिर्जना भएको थियो । कतिपय त बिरामी नै परे । ०४८ देखि ०७० सालसम्म भक्तपुर क्षेत्र नम्बर १, बाट मजदुरका अध्यक्ष नाराणमान बिजुक्ँछेले चुनाव जिते ।
०७४ देखि ०७९ सम्म उनैले उठाएका प्रेम सुवालले चुनाव जिते । तर, चुनाव जितेको यतिका दशकौंदेखि उनीहरुले केही गरेका छैनन् । उल्टै राजा र ०४६ सालअघि गरिएका कामलाई आफ्नो दाबी गरी उनीहरुले भक्तपुरबासीलाई भ्रमित बनाउँदै आएका छन् । बिजुक्ँछेले भूमि ऐन आफूहरुले ल्याएको भनि भक्तपुरबासीलाई भ्रमित बनाई राखेका छन् ।
जबकी भूमि ऐन, ०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए । त्यस्तै, ०४३ असार २ गतेदेखि ०४६ चैत २४ गतेसम्म मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । त्यतिबेला भूमिसुधार र परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्याय थिए । उनैले भक्तपुरको नगरकोटलाई क्याबिनेटमार्फत पर्यटकीय स्थल घोषणा गरेका थिए ।
तर, यो पनि आफैंहरुले गरेको भनि बिजुक्ँछे, सुवालले भक्तपुरबासीलाई भ्रममा राखेका छन् । भक्तपुरमा जतिपनि मठमन्दिर, सम्पदा छन्, ती राजाको पालामा बनेका छन् । ०४६ सालपछि यहाँ एउटै मठमन्दिर बनेको पाइँदैन । अनि बिजुक्ँछे, सुवाल चाँहि भक्तपुरका सबै मठमन्दिर, सम्पदा आफूहरुले बनाएकोजस्तो गर्छन् ।
सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, सिर्जनानगर, राधेराधे र राधेराधेको भाटभटेनी, निर्माणाधीन १५ तले भवन, ड्राइभिङ सेन्टरहरु, राजेश हार्डवेयर र आसपास घर बनेका जग्गा सरकारी, ऐलानी हुन् । ०२१ सालमा नापी हुँदा यो जग्गालाई सरकारी, ऐलानी, गुठी भनि राखिएको थियो । यहाँ ०२९ सालसम्म एउटै घर बनेको थिएन । ०३२ सालमा मजदुरका एक कार्यकर्ताले यहाँ छाप्रो हाले ।
०३५ सालमा तिनै व्यक्तिले ढुंगामाटोमा घर बनाए । त्यसपछि यहाँ मजदुरका अन्य कार्यकर्ताले पनि जग्गा कब्जा गरे । कतिपयले घर बनाए त कतिपयले अरुलाई बेचे । सल्लाघारी चौरअगाडि ठूलो घर छ, त्यो विकुलाल खिउँजुको हो । मजदुरका कार्यकर्तासमेत रहेका उनले तीन वटा ढुंगेधारा पुरेर घर बनाएको आरोप छ ।भक्तपुरमा एउटै व्यापार व्यवसाय दर्ता भएको छैन । बत्ती, पानी, फोहोरको शुल्क लिइँदैन । सरकारी जग्गा, बाटो नभएको जग्गामा घर बनाएपनि नगरपालिकाले प्रमाणपत्र दिन्छ । घरबहाल कर पनि तिर्नुपर्दैन । कर नलिने अनि भोट लिने । यही कारणले मजदुरले यत्रो वर्षादेखि यहाँ चुनाव जित्दै आएको छ । भक्तपुरमा मजदुर पार्टीले विकास होइन, विनास गरेको छ ।रुषा थापा
समाज
थप सामाग्री-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि
1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…



