धरानमा आसरा सुधार केन्द्रको सातौं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

धरान । आसरा सुधार केन्द्र, पानवारी धरान–सुनसरीको सातौं वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। केन्द्र सञ्चालक समितिका कार्यवाहक अध्यक्ष शिला बज्राचार्यको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष एवं केन्द्रकी प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले आसरा सुधार केन्द्रले समाजमा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा पुनःस्थापनामा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता संस्थाहरूको निरन्तरता र सुदृढीकरण अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले सुधार केन्द्रमार्फत पीडित व्यक्तिहरूलाई पुनः समाजमा स्थापित गर्न गरिएको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद घिमिरे, वरिष्ठ प्रहरी उपरीक्षक गोविन्द अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाललगायत नेपाल प्रहरीका उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा केन्द्रको वार्षिक प्रगति विवरण प्रस्तुत गरिनुका साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा योजनाहरूका बारेमा छलफल गरिएको थियो। साथै, केन्द्रको स्थापनादेखि हालसम्म सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

सात वर्षको अवधिमा आसरा सुधार केन्द्रले लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूको उपचार, परामर्श तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागी वक्ताहरूले बताएका थिए।

 

Facebook Comments Box
TOP
209 Shares