काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : एआईजी ईश्वर कार्की

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट गर्नुभएको छ।
पदभार ग्रहणपछि प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै एआईजी कार्कीले उपत्यकाको शान्ति सुरक्षा अझ सुदृढ बनाउने, आमनागरिकलाई प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटोछरितो र सहज बनाउने तथा प्रहरी कर्मचारीको मनोबल उच्च राखेर कार्यसम्पादन गर्न जोड दिनुभएको छ।
प्रहरी संगठनभित्र अनुशासन र आचरणलाई उच्च प्राथमिकतामा राख्दै उहाँले बर्दीको दुरुपयोग गरी गलत काम गर्ने जो–कोहीलाई ठाउँको ठाउँ कारबाही गरिने चेतावनी दिनुभएको छ। “प्रहरीको बर्दी जिम्मेवारी र विश्वासको प्रतीक हो, यसलाई दाग लाग्न दिने छुट कसैलाई छैन,” उहाँले स्पष्ट पार्नुभयो।
एआईजी कार्कीले बलियो शान्ति सुरक्षाविना सुशासन, स्थायी शान्ति, विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै देश र जनताप्रति जवाफदेहीपूर्ण ढंगले आफ्नो जिम्मेवारी निर्वाह भइरहेको बताउनुभयो।
काठमाडौँ उपत्यकाको शान्ति सुरक्षालाई अझ मजबुत बनाउने विषयलाई केन्द्रमा राखेर रणनीतिक योजना तयार गरिएको र त्यसअनुसार थप प्रहरी जनशक्ति तथा साधन–स्रोतको प्रभावकारी परिचालन गरिएको उहाँको भनाइ छ। “नतिजामुखी काममा केन्द्रित भएर अहिलेको शान्ति सुरक्षालाई अझ सुदृढ बनाइँदैछ,” उहाँले भन्नुभयो।
उपत्यकाभित्र रहेका सबै प्रहरी कार्यालयको जनशक्तिलाई व्यवस्थित र योजनाबद्ध रूपमा परिचालन गर्दै अपराध हुन सक्ने सम्भावित स्थानहरूमा कडा सुरक्षा व्यवस्था गरिएको तथा अपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने व्यक्तिहरूलाई निरन्तर निगरानीमा राखिएको एआईजी कार्कीले जानकारी दिनुभयो।
पछिल्लो समय उपत्यकाभित्र व्यापक प्रहरी परिचालनका कारण ठूला आपराधिक घटनाहरू घटेका छैनन् र आगामी दिनमा पनि त्यस्ता घटना हुन नदिन प्रहरी पूर्ण रूपमा सतर्क रहेको उहाँको दाबी छ।

Facebook Comments Box
TOP
213 Shares