

उच्च शिक्षा नाममा विदेश पलायन : कोहलपुरमा दर्ताविहीन कन्सल्टेन्सीको बिगबिगी, विद्यार्थी ठगीको जोखिममा
कोहलपुर (बाँके) — पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने नेपाली युवा पुस्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ । अमेरिका, अष्ट्रेलिया, क्यानाडा तथा युरोपेली मुलुकहरू नेपाली विद्यार्थीको प्रमुख रोजाइमा परेका छन् । ‘लर्न एण्ड अर्न’ को अवसर नेपालमा नपाइने, उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारी नपाइने वा पाए पनि न्यून पारिश्रमिक हुने गुनासोका कारण विद्यार्थी विदेशिन बाध्य भएका छन् ।
विदेश अध्ययनको सपना देखाउने नाममा देशभर कन्सल्टेन्सीहरूको संख्या अस्वाभाविक रूपमा बढेको छ । शहरी क्षेत्र मात्र होइन, उपत्यकाबाहिर पनि घरैपिच्छेझैँ कन्सल्टेन्सी सञ्चालनमा आएका छन् । तर, बाँकेको कोहलपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश कन्सल्टेन्सी दर्ता नै नगरी सञ्चालनमा रहेको तथ्य बाहिर आएको छ ।
स्रोतका अनुसार कोहलपुरमा केही कन्सल्टेन्सी मात्र कम्पनी र राजश्व कार्यालयमा दर्ता भएका छन् । बाँकी अधिकांश दर्ताविहीन छन् । दर्ता भएर सञ्चालनमा रहेका कन्सल्टेन्सीले समेत कानुनी मापदण्ड पालना नगरेको स्रोतको दाबी छ । तर, नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसम्म यस विषयमा प्रभावकारी अनुगमन र कारबाही नदेखिँदा दर्ताविहीन कन्सल्टेन्सीको मनोमानी बढ्दै गएको छ ।यहाँ चिन्ताको विषय के छ भने धेरै कन्सल्टेन्सीमा योग्य इन्स्ट्रक्टर नै छैनन् । स्नातक तह पनि उत्तीर्ण नगरेका व्यक्तिले आईईएलटीएस, पीटीई जस्ता कक्षाहरू सञ्चालन गरिरहेका छन् । अयोग्य शिक्षकका कारण विद्यार्थीहरूको आवेदन अस्वीकृत (रिजेक्ट) हुने सम्भावना उच्च रहेको जानकारहरू बताउँछन् ।
धेरै विद्यार्थीलाई आफू पढ्दै गरेको कन्सल्टेन्सी दर्ता छ कि छैन भन्ने जानकारीसमेत छैन । शिक्षकको शैक्षिक योग्यता कस्तो छ भन्ने विषयमा पनि उनीहरू बेखबर छन् । यसले विद्यार्थी र अभिभावकलाई ठगीको जोखिममा पारेको छ ।नियामक निकायबाट शुल्कको स्पष्ट मापदण्ड नहुँदा कन्सल्टेन्सीहरूले विद्यार्थीबाट मनलाग्दी शुल्क असुल्दै आएका छन् । विभिन्न बहानामा अतिरिक्त रकम उठाइँदा विद्यार्थीले तिरेको पैसा ‘वालुवामा पानी’ भइरहेको गुनासो छ ।
एक अभिभावक भन्छन्,
“कन्सल्टेन्सीमाथि कडा नियमन होस् । ठगी रोकिनुपर्छ । दर्ता नगरी सञ्चालन भएका कन्सल्टेन्सी तुरुन्त बन्द गरिनुपर्छ ।”
स्रोतका अनुसार दर्ता नै नभएका कतिपय कन्सल्टेन्सीले किर्ते अडिट रिपोर्ट तयार पार्ने गरेका छन् । नक्कली बिल बनाएर आन्तरिक राजश्व कार्यालयमा अडिट गराउने र राज्यलाई करसमेत नतिर्ने गरेको गम्भीर आरोप छ ।
“कन्सल्टेन्सीहरूले नक्कली बिल बनाउँछन्, अडिट गराउँछन् । तर राज्यलाई कर तिरेका हुँदैनन्,” स्रोतले भन्यो ।
सरोकारवाला निकायको विरोधाभासपूर्ण प्रतिक्रिया
कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले भने कन्सल्टेन्सीमाथि अनुगमन भइरहेको दाबी गरिन् ।
“नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ । दर्ता गर्न आउन भन्दै पटक–पटक सूचना जारी गरिएको छ,” उनले भनिन् ।
तर जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले कन्सल्टेन्सीसम्बन्धी विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिए ।
“यस विषयमा मलाई थाहा छैन, सूचना अधिकारीलाई जानकारी होला,” उनले भने ।
सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सम्पर्क गर्न खोज्दा फोन उठेन ।
विदेश अध्ययनको चाहनालाई व्यवसाय बनाउँदै दर्ताविहीन कन्सल्टेन्सीहरूले विद्यार्थीको भविष्य र अभिभावकको लगानीमाथि खेलबाड गरिरहेका छन् । नियामक निकायको कमजोरी र उदासीनताले समस्या झनै जटिल बन्दै गएको छ । अब कन्सल्टेन्सी क्षेत्रको कडा नियमन, पारदर्शी शुल्क संरचना र योग्य जनशक्तिको व्यवस्था नगरे विद्यार्थी ठगीका घटना अझ बढ्ने निश्चित देखिन्छ ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



