भाषा सिकाउने बहानामा ‘हनी–ट्र्याप’ र मानव तस्करीको आशङ्का : केही चिनियाँ शिक्षकको गतिविधिले राष्ट्रिय सुरक्षा र सामाजिक मर्यादामाथि गम्भीर प्रश्न

काठमाडौँ । भाषा सिकाउने नाममा नेपाली किशोरी तथा महिलालाई फकाउने, विवाहको सपना देखाएर सीमा कटाउने र लाइभ भिडियोमार्फत ‘छनोट’ गराउनेजस्ता अवाञ्छित तथा आपराधिक गतिविधिमा केही चिनियाँ शिक्षक संलग्न रहेको सुरक्षा स्रोतको गम्भीर दाबी सार्वजनिक भएको छ। स्रोतका अनुसार यस्ता गतिविधिले नेपालको सामाजिक संरचना मात्र होइन, चिनियाँ नागरिककै छवि र कूटनीतिक सम्बन्धलाई समेत बदनाम गर्ने खतरा बढाएको छ।
स्रोत भन्छ, “भाषा कक्षा सञ्चालनको नाममा उनीहरू विकट, कम पढेलेखेका र आर्थिक रूपमा कमजोर समुदाय भएका जिल्लामा प्रवेश गर्छन्। त्यसपछि किशोरी र महिलालाई लक्षित गरी विवाह, रोजगारी र ‘सुखी जीवन’को प्रलोभन देखाएर चीन पठाउने नयाँ शैली अपनाइएको छ।”

सुरक्षा स्रोतका अनुसार केही शिक्षकले टिकटक, वीच्याट जस्ता प्लेटफर्ममार्फत लाइभ प्रसारण गरी चिनियाँ युवकहरू देखाउने र “जुन मन पर्छ, त्यसैसँग विवाह गराएर पठाइदिन्छु” भन्ने स्पष्ट रूपमा मानव तस्करीको संकेत दिने गतिविधि गरेका छन्। कक्षा सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएको दाबी गर्दै लाइभमार्फत उचाल्ने काममा संलग्न भए पनि हालसम्म ठोस कारबाही हुन नसकेको स्रोतको आरोप छ।

नेपाली किशोरीलाई चिनियाँसँग विवाह गराएर पठाउने भन्दै रमाइला भिडियो देखाउनेमध्ये ‘हाइसन मिडिया’ नामक कम्पनीको नाम बारम्बार जोडिएको स्रोतको भनाइ छ। यसअघि उक्त कम्पनीले आधा दर्जनभन्दा बढी जिल्लामा भाषा कक्षा सञ्चालन गरेको थियो। काभ्रेपलाञ्चोकका अधिकांश गाउँपालिकामा कक्षा सञ्चालन भएको थियो।
अभिभावकबाट छोरीहरूलाई गलत क्रियाकलापतर्फ धकेल्न खोजिएको गुनासो आएपछि केही गाउँपालिकाले ती शिक्षकलाई हटाएका छन् र हाल त्यहाँ कक्षा बन्द छन्।
काभ्रे, भुम्लु, बेथानचोक हुँदै दाङ र दैलेखसम्म
काभ्रेको भुम्लु गाउँपालिकामा स्कूल समयपछि बेलुका भाषा कक्षा सञ्चालन गरी छात्रालाई भेला गरेर वीच्याटमार्फत चिनियाँ केटासँग लाइभ कुराकानी गराएको गुनासो आएको स्रोतको दाबी छ।
भुम्लुबाट हटाइएपछि ती शिक्षक बेथानचोक गाउँपालिका पुगेको र त्यहाँ पनि उस्तै गुनासो आएपछि हटाउनुपरेको अध्यक्ष भगवान अधिकारीले बताए। उनका अनुसार, “शिक्षा मन्त्रालयबाट अनुमति छ भनेपछि स्वीकृति दिएका थियौँ, तर बुझ्दै जाँदा गम्भीर हर्कत देखियो।”
चौंरीदेउराली गाउँपालिकामा पनि दुई जना चिनियाँ शिक्षकले एक महिना कक्षा चलाएर फर्किएको अध्यक्ष रेणुका चौलागाईँको भनाइ छ। विद्यार्थीलाई दैनिक एक सय रुपैयाँ खाजा खर्च दिने जस्ता अस्वाभाविक प्रलोभन पनि देखाइएको थियो।
उता, दैलेखको नारायण नगरपालिकामा चिनियाँ पक्षले सर्वेक्षण गरे पनि सरकारी अनुमति कागजात मागेपछि सम्पर्कविहीन भएको नगरप्रमुख लोमन शर्माले बताए। दाङमा पनि यस्तै भाषा कक्षा सञ्चालन भएको जानकारी स्रोतले दिएको छ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले भने त्यस्तो घटना नभएको दाबी गर्दै शिक्षक ६ महिने कोर्स पूरा गरेर गएको बताए। तर सुरक्षा स्रोत भन्छ, “स्थानीय तहका कतिपय जनप्रतिनिधिलाई चीन भ्रमण गराएपछि यस्ता गतिविधि चलाउन उनीहरू थप हौसिएको सूचना छ।”

भाषा सिकाउने आवरणमा मानव तस्करी, यौन शोषण र राष्ट्रिय सुरक्षासँग जोडिने गम्भीर गतिविधि भइरहेको आशङ्काले राज्य संयन्त्रलाई कडा निगरानी, तत्काल छानबिन र निर्मम कारबाहीतर्फ उन्मुख हुन बाध्य बनाएको छ।
स्रोतको चेतावनी छ—“अब ढिलाइ गरियो भने यो विषय अन्तर्राष्ट्रिय बदनामी र सामाजिक विस्फोटको कारण बन्न सक्छ।”

Facebook Comments Box
TOP
103 Shares