शालिनदी क्षेत्रमा आजबाट सुरु भएको माधवनारायण मेलामा दर्शनार्थीको भिड

काठमाडौं।
काठमाडौंको शंकरापुर नगरपालिका–६ स्थित ऐतिहासिक शालिनदी क्षेत्रमा आजबाट सुरु भएको माधवनारायण मेलामा दर्शनार्थीको उल्लेख्य भिड देखिएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यस धार्मिक मेलाको पहिलो दिनमै भक्तजनको ठूलो उपस्थिति देखिएको हो।
व्रत, स्नान र पूजाआराधनाका लागि देशका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू शालिनदी पुगेका छन्। विशेषगरी बिहानै शालिनदीमा स्नान गरी माधवनारायणको पूजा, कथा श्रवण र दीपदान गर्ने परम्परा रहेको छ। यस मेलालाई पति दीर्घायु, पारिवारिक सुख–शान्ति र मनोकामना पूरा हुने विश्वासका साथ महिलाहरूले विशेष महत्व दिने गरेका छन्।
मेलालाई व्यवस्थित बनाउन शंकरापुर नगरपालिका, स्थानीय समितिहरू तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन मिलाएका छन्। सुरक्षा, सरसफाइ, खानेपानी, स्वास्थ्य सेवा तथा आवागमनलाई सहज बनाउने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान बोकेको माधवनारायण मेला शालिनदी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण मानिन्छ। एक महिनासम्म चल्ने यस मेलामा आगामी दिनहरूमा दर्शनार्थीको भिड अझ बढ्ने अनुमान गरिएको छ।

Facebook Comments Box
TOP
319 Shares