फर्जी आयोजक र निम्तोपत्रको आधारमा अमेरिका भ्रमण ? अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता विवादको घेरामा

काठमाडौँ : जेन–जी आन्दोलनपछि देशलाई सहज व्यवस्थापन गर्दै छ महिनाभित्र निर्वाचन सम्पन्न गराउने म्यान्डेटसहित बनेको अन्तरिम सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा फस्दै गएका छन् । यसैक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता फर्जी आयोजक र फर्जी निम्तोपत्रको आधारमा अमेरिका भ्रमण स्वीकृत गराएको आरोपमा गम्भीर विवादमा तानिएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी २०८२ माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution’ शीर्षकको कार्यक्रममा सहभागी हुन मन्त्री गुप्ताको भ्रमण स्वीकृत गरेको थियो । तर नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा अमेरिकी सरकारको कुनै पनि आधिकारिक अभिलेखमा उक्त कार्यक्रम वा आयोजक संस्थाको अस्तित्व नदेखिएको भन्दै मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित, गैरजिम्मेवार र सदाचारविपरीत कार्य भएको आरोप लागिरहेको छ ।
नागरिक सरकारमा रहेका मन्त्रीहरूको विदेश भ्रमण मोहबारे चौतर्फी आलोचना भइरहेका बेला अस्तित्वमै नभएका आयोजक खडा गरी विदेश भ्रमणको स्वीकृति लिनु जेन–जी आन्दोलन, सुशासन र पारदर्शितामाथि नै गम्भीर प्रश्न उठाउने कार्य भएको राजनीतिक तथा प्रशासनिक वृत्तको ठहर छ ।
प्रधानमन्त्रीको चासो, भ्रमण रद्द हुनसक्ने
गैरसरकारी वा सरोकारवाला नै स्पष्ट नभएको कार्यक्रममा सहभागी हुन मन्त्री गुप्ता अमेरिका जान लागेको विषय प्रधानमन्त्रीसम्म पुगेपछि मन्त्रिपरिषद्बाट स्वीकृत उक्त भ्रमण रद्द हुनसक्ने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
‘मन्त्रीले प्रस्ताव ल्याएपछि क्याबिनेटमा विस्तृत कागजात माग्ने चलन हुँदैन,’ स्रोतले भन्यो, ‘तर आयोजक नै अस्तित्वमा नभएको पुष्टि भयो भने भ्रमण स्वीकृति स्वतः रद्द हुन्छ ।’मन्त्रिपरिषद्को २१ पुसमा बसेको बैठकको निर्णयको बुँदा नम्बर ८ मा मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरिएको उल्लेख छ । निर्णयमा ‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए यूथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जी सम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुदमन्त्रीलाई स्वीकृति प्रदान गर्ने’ भनिएको छ ।
सहयोगीलाई अमेरिका उडाउने गृहकार्य
मन्त्री गुप्ताले आफ्ना निकट केही युवालाई ‘जेन–जी मुभमेन्ट’को नाममा कार्यक्रम आयोजना गर्न लगाएको विषय उनकै सचिवालयका व्यक्तिहरूले सार्वजनिक गरेका छन् ।
‘मन्त्रीज्यूका सहयोगी, स्वास्थ्यकर्मी तथा जेन–जी मुभमेन्ट एक्सपर्ट गरी ५–७ जनालाई आफ्नै खर्चमा भ्रमण दलमा समावेश गर्ने तयारी भइरहेको छ,’ गुप्ताको सचिवालयका एक युवाले राजधानीसँग बताए । उनका अनुसार भिसा प्रयोजनका लागि विभिन्न तहमा समन्वय भइरहेको छ ।
नेपालस्थित अमेरिकी दूतावासको कन्सुलर शाखामा यूएस यूथ काउन्सिलसँग पहुँच भएका गुप्ताले मन्त्रीको भ्रमण दलका नाममा कति व्यक्तिको भिसा सहजीकरण गरे भन्ने यकिन हुन सकेको छैन । मन्त्री बनेलगत्तै उनले हन्ड्रेड ग्रुपसँग आबद्ध केही युवालाई युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम आयोजना र सहभागिताको तयारी गर्न निर्देशन दिएको बताइन्छ ।
दलीय संलग्नतासमेत विवादमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँगको एकता घोषणा कार्यक्रममा सहभागी भएपछि गुप्तामाथि दलीय संलग्नताको आरोपसमेत लागेको छ । यही कारण उनलाई राजीनामाको दबाब पनि बढ्दै गएको छ ।
पहिलो चरणमा मन्त्री नबनेपछि गुप्ताले प्रधानमन्त्री तथा जिम्मेवारी पाएका मन्त्रीहरूको आलोचना गर्दै विभिन्न जिल्लामा सङ्गठन विस्तारमा लागेको बताइन्छ । तत्कालीन मन्त्री तथा एमाले नेता महेश बस्नेतसँगको सम्बन्ध र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको कनेक्सनका कारण जेन–जी अभियन्ता सुधन गुरुङले सुरुमा उनलाई मन्त्री बन्न रोकेको चर्चा पनि छ ।
पछि कुलमान घिसिङको समर्थनमा प्रधानमन्त्रीमाथि दबाब सिर्जना गर्दै मन्त्री बनेका गुप्ता पछिल्लो समय नेपाल स्काउटको जग्गा प्रकरणदेखि खेल क्षेत्रका विभिन्न निर्णयसम्म विवादमा मुछिँदै आएका छन् । आफूअनुकूल निर्णय नगरेपछि सचिव सरुवा गराउन दबाब दिएको विषयलाई लिएर सचिवालयभित्रै असन्तुष्टि बढेको उनी निकट स्रोतहरू बताउँछन् ।                                  सदाचार नीतिविपरीत विदेश भ्रमण
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण सरकारको सदाचार नीतिविपरीत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरू बताउँछन् ।
सरकारले असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट पारित गरेको सदाचार नीतिमा ‘राष्ट्रका लागि अत्यावश्यक बाहेक कुनै पनि विदेश भ्रमण नगर्ने’ स्पष्ट व्यवस्था छ ।
‘सम्बन्धित देशको सरकार वा आधिकारिक निकायबाट आएको औपचारिक निम्तोबिना मन्त्रीको हैसियतमा विदेश भ्रमण गर्नु कानुनी र नैतिक दुवै हिसाबले गलत हो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने ।
भ्रमण दलका नाममा मानव तस्करीको जोखिम
मन्त्रीको भ्रमण दलका नाममा मानव तस्करी र विदेश भ्रमणको दुरुपयोग हुने घटना विगतदेखि दोहोरिँदै आएका छन् । २०८१ कात्तिकको दोस्रो साता जापान भ्रमणका क्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी चार जनालाई लगेको प्रकरण सार्वजनिक भएपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा नक्कली कागजात बनाएर ठूलो सङ्ख्यामा व्यक्तिहरू गएको विषय संसद्मा उठेपछि भिजिट भिसा दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो । पूर्वउपसभामुख इन्दिरा रानाले अमेरिका जाने युवालाई भिसा सहजीकरण गरेको आरोपपछि प्रतिनिधिसभा बैठकसमेत लामो समय अवरुद्ध भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि मन्त्रीहरूले कूटनीतिक राहदानी प्रयोग गरी जुनसुकै बेला विदेश जान सक्ने सुविधाको दुरुपयोग हुने गरेको भन्दै आलोचना भइरहेका छन् । यद्यपि, खेलकुदमन्त्री गुप्ताले आफूले कुनै गलत नगरेको दाबी गर्दै आएका छन् ।

Facebook Comments Box
TOP
192 Shares