नेपाल प्रहरीका ११ एसपी पदका लागि २१ डीएसपीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) दर्जाका ११ रिक्त दरबन्दी पूर्ति गर्न नायब उपरीक्षक (डीएसपी)हरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। सम्भावित निर्वाचनका कारण आचारसंहिता लागू हुने अवस्था आएमा बढुवा प्रक्रिया स्वतः स्थगित हुने भएकाले समयमै निर्णय गराउन संगठनभित्र दबाब बढ्दै गएको प्रहरी वृत्तको बुझाइ छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राति १० जना प्रहरी उपरीक्षकलाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेसँगै संगठनभित्र व्यापक चलायमानता देखिएको हो। यो निर्णय सामान्य पदोन्नतिमा सीमित नरही प्रहरी संरचनाको माथिल्लो तहदेखि तल्लो तहसम्म प्रत्यक्ष प्रभाव पार्ने ‘चेन–रियाक्सन’ का रूपमा हेरिएको छ।
एसएसपीमा बढुवा सिफारिस भएसँगै हाल कार्यरत ११ वटा एसपी पद रिक्त हुने निश्चित भएको छ। ती पद पूर्ति गर्न २१ जना डीएसपीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। प्रहरी संगठनमा यो चरणलाई करिअरको सबैभन्दा संवेदनशील मोडका रूपमा लिइन्छ, जहाँ एउटै निर्णयले भावी जिम्मेवारी, कार्यक्षेत्र र नेतृत्व अवसर निर्धारण गर्छ।
प्रहरी मानव स्रोत विभागका अनुसार बढुवाका आधारमा बरियता, कार्यसम्पादन मूल्याङ्कन, फिल्ड कमाण्ड अनुभव, नेतृत्व क्षमता र व्यावसायिक छविलाई मुख्य मापदण्ड बनाइनेछ। तर विगतका अभ्यासलाई स्मरण गर्दै संगठनभित्रैबाट सिनियारिटीभन्दा पनि पहुँच र प्रभाव निर्णायक बन्न सक्ने जोखिमप्रति चिन्ता व्यक्त भइरहेको छ।
वरिष्ठता सूची (बरियता क्रमअनुसार)
• पुष्पराज मल्ल
• मानबहादुर राई
• रामकुमार दानी
• रबिन श्रेष्ठ
• कुमारविक्रम थापा
• हरिबहादुर ओली
• मोहनबहादुर खड्का
• श्याम अर्याल
• छेदीलाल कामती
• ध्रुवकुमार श्रेष्ठ
• धर्मराज भण्डारी
• बुद्ध श्रेष्ठ
• सागर बोहरा
• भरत लामा
• प्रदीपकुमार सिंह
• प्रकाश सापकोटा
• दिलीपकुमार गिरी
• दीपक भारती
• प्रकाश बिड
• महेन्द्रकुमार मिश्र
• जितेन्द्रकुमार बस्नेत
अब सबैको ध्यान बढुवा प्रक्रिया कति छिटो, कति पारदर्शी र कति निष्पक्ष रूपमा अघि बढ्छ भन्नेमा केन्द्रित भएको छ। आगामी निर्णयले केही व्यक्तिको करिअर मात्र होइन, समग्र प्रहरी संगठनप्रतिको विश्वास र संस्थागत सन्तुलनसमेत कति मजबुत छ भन्ने कुराको गम्भीर परीक्षण गर्ने देखिन्छ।

Facebook Comments Box
TOP
385 Shares