कुनै पनि विदेश भ्रमणका निमन्त्रणाहरू स्वीकार गर्दिनँ : पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पद सम्हालेपछि प्राप्त भएका कुनै पनि विदेश भ्रमणका निमन्त्रणाहरू स्वीकार नगरेको स्पष्ट पार्दै देशको कमजोर अर्थतन्त्रलाई प्राथमिक चुनौतीका रूपमा औंल्याएका छन्।
“म मन्त्री बनेपछि पहिला पनि तीनवटा विदेश भ्रमणको निमन्त्रणा आएको थियो, म गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएका छन्, यसपटक पनि जान्न,” शिक्षामन्त्री पुनले भने। उनले मुलुकको आर्थिक अवस्था सुधार नभएसम्म केवल नेतृत्व परिवर्तनले मात्र ठोस उपलब्धि हासिल नहुने ठोकुवा गरे।
उनका अनुसार देशको अर्थतन्त्र कमजोर भइरहेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि अपेक्षित प्रगति सम्भव छैन। “केही गर्न पैसा चाहिन्छ। स्रोत नहुँदा योजना कागजमै सीमित हुन्छन्,” उनले स्पष्ट शब्दमा भने।
विदेश भ्रमणको औचित्यमाथि प्रश्न उठाउँदै पुनले अर्थतन्त्र सुधारका नाममा गरिने अनावश्यक भ्रमणले मुलुकलाई कुनै लाभ नदिने धारणा राखे। “विदेश घुमेर अर्थतन्त्र बन्छ ?” भन्ने उनको प्रश्नले सरकारी खर्च, प्राथमिकता र जवाफदेहितामाथि गम्भीर बहस खडा गरेको छ।
सादा जीवनशैली र व्यवहारिक सोचका लागि परिचित पुनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिवेशमा खर्च कटौती, परिणाममुखी नीति र आन्तरिक उत्पादनमा केन्द्रित हुनुपर्ने सन्देशका रूपमा हेरिएको छ। शिक्षामन्त्रीको यो धारणा आम नागरिकको भावना प्रतिबिम्बित गर्ने भन्दै सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया आइरहेको छ।

Facebook Comments Box
TOP
229 Shares