सिमलताल पहिरोमा बेपत्ता बसमध्ये एकको अवशेष त्रिशूली किनारमा फेला( भिडियो सहित)

तनहुँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत वर्ष पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एक बसको अवशेष फेला परेको छ।
आइतबार सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा बसको केही भाग फेला परेको हो। नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अवशेष भेटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो।
वि.सं. २०८१ असार २८ गते परेको अविरल वर्षासँगै आएको पहिरोका कारण सिमलताल क्षेत्रमा दुई वटा यात्रुवाहक बस सडकबाट खसेर त्रिशूली नदीमा बग्दा दर्जनौँ यात्रु बेपत्ता भएका थिए। घटनापछि लामो समयसम्म खोजी कार्य भए पनि दुवै बस फेला पर्न सकेका थिएनन्।
हाल फेला परेको अवशेष पहिरोका बेला खसेको बसमध्ये एकको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। थप पहिचान र प्रमाण संकलनका लागि प्राविधिक टोली परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Facebook Comments Box
TOP
110 Shares