नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, सञ्चालकमा अनिल शाह निर्विरोध निर्वाचित

काठमाडौं । नबिल बैंक लिमिटेडको सोमबार सम्पन्न ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक पदमा अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। शाह सञ्चालकमा निर्वाचित भएसँगै साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले निर्वाण चौधरीलाई बैंकको अध्यक्षमा चयन गरेको छ।
बैंकका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन गरिएको हो। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात निर्वाण चौधरीले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। बैंकले निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक दुई कार्यकाल पूरा गरेको भन्दै उनको कार्यकालमा दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको छ। पौडेलको नेतृत्वमा टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसएसई) स्थापना तथा मर्जर प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बैंकको भनाइ छ।
यसैबीच, चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पूँजी उपकरण जारी गरेको छ। यसबाट अतिरिक्त प्राथमिक पूँजीमार्फत बैंकको पूँजीगत आधार थप मजबुत भई जोखिम बहन गर्ने क्षमता बढ्ने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। पछिल्लो समय बैंकले दिगो बैंकिङ अवधारणालाई आत्मसात गर्दै डिजिटल बैंकिङतर्फ अग्रसर भई ‘एन बैंक’ सञ्चालनमा ल्याएको छ, जसले आधुनिक र सहज बैंकिङ सेवालाई अझ विस्तार गरेको छ।

Facebook Comments Box
TOP
117 Shares