नेपाली काँग्रेसको नेतृत्व संकट र चुनावी चुनौती

मधु लम्साल                                                           २०७२ सालमा ६९ वर्षको उमेरमा १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । हुनत: त्यसअघि पनि नेपाली काँग्रेसलाई चोइट्याएर काँग्रेसकै एउटा समूह प्रजातान्त्रिकको उनी सभापति रहेका थिए ।
अहिलेको अवस्थामा उनै देउवालाई १४ औं महाधिवेशनमा झण्डै ६० प्रतिशत मत दिएर निर्वाचित गराएका महाधिवेशन प्रतिनिधिले उनकै विभिन्नखाले क्रियाकलापका कारण आउँदो आम निर्वाचनमा उनकै नेतृत्वमा जनमत लिनका लागि जान नसकिने भन्दै नेतृत्व परिवर्तनको समेत माग गर्दै झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा बुझाएको पत्र उपर सभापति देउवाकै स्वार्थअनुसार कारवाही गर्न आनाकानी भएपछि पार्टीभित्र सभापति पछिको शक्तिशाली मानिने पद महामन्त्री, त्यसमा पनि दुबै महामन्त्रीले महाधिवेशन प्रतिनिधिको माग बमोजिम डाकेको विशेष महाधिवेशनलाई अवैद्य भन्दै उक्त महाधिवेशनलाई अटेर गर्दाको परिणाम आजका दिनमा आई पुग्दा सम्वैधानिक रुपमै नेपाली काँग्रेसको सभापति विशेष महाधिवेशनद्धारा निर्विरोध निर्वाचित गगन थापा बनेका छन् ।
युवाको चाहाना बमोजिम गगन ४९ वर्षको उमेरमा नेपाली काँग्रेसको सभापति चयन भएका हुन् । आगामी निर्वाचनमा पार्टीको ‘चारतारे’ झण्डा, अनी चुनाव चिह्न ‘रुख’ लिएर नेपाली काँग्रेस गगन थापा नेतृत्वमा चुनावी मैदानमा हामफाल्ने छ, त्यो पनि उनैलाई भावि प्रधानमन्त्रीका रुपमा अघि सार्दै ।
तर, आम निर्वाचन आउन डेढ महिना मात्र बाँकी छदा, अर्थात् प्रत्यक्ष निर्वाचनका उमेदवारले मनोनय दर्ता गर्ने पूर्व निर्धारित दिन ६ गते आउन ३ दिन बाँकी छ । काँग्रेसका दुबै पक्षिय नेता, कार्यकर्ता राजधानीमै छन् । निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिक मानीदिएता पनि शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा कब्जा जमाइरहेको अवस्था छ । निर्वाचन आयोगले दिएको निर्णय विरुद्ध सडक र न्यायीक लडाइँमा लाग्ने देउवा पक्षिय नेताले घुर्कि देखाइरहेको अवस्था छ । आजै शनिबार विहान दुबै पक्षका समानान्तर बैठक भए । देउवा पक्षले कब्जा गरिरहेको पार्टी कार्यालयमा र गगन पक्षले बानेश्वरमा केन्द्रीय कमिटिको बैठक गर्दा नेपाली काँग्रेस भित्र थप संकट देखा परेको छ ।
यसअघि, समानूपातिक निर्वाचनका लागि पार्टीका तर्फबाट निर्वाचन आयोगलाई उपलब्ध गराइएका नाम प्राय: देउवा गुटका छन् । ति नाम समानूपातिक निर्वाचनमा ‘रुख’ चुनाव चिह्नबाट प्राप्त मतका आधारमा बिजयी हुनुपर्छ । अब ‘रुख’ चुनाव चिह्न पाएको गगन समूहलाई ति नाम स्वीकार्य नहुन सक्छ । साथै, गगन पक्षीय नेपाली काँग्रेसले अब समानूपातिकको सूची आयोगमा बुझाउन पाउने छैन । त्यस्तै, प्रत्यक्ष निर्वाचनको उमेदवारी दर्ताका लागि दुई दिन मात्र बाँकी रहेको अवस्थामा गगन पक्षले के र कुन अवस्थालाई आधार मानेर आफ्ना उमेदवारको चयन गर्ने ? उमेदवार तोक्ने ? यहाँनेर पनि समस्या छ । देउवा पक्षले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च न्यायलय गुहार्ने नै भयो भने त्यहाँबाट निर्णय नआउँदा सम्म उमेदवार दर्ता प्रक्रिया के हुन्छ ? उमेदवारी दर्ता पछि न्यायलयले निर्णय दियो भने त्यो बेला के हुन्छ ?
अझै भनौं ‘जेनजी’ प्रदर्शनपछि बनेको वर्तमान सरकारले गरेको संसद विघटनको अवस्था असंवैधानिक भन्दै ठूलो दलको हैसियतमा नेपाली काँग्रेसले उक्त निर्णय बदर गर्दै आफ्ना नेतालाई प्रधानमन्त्री तोक्न परमादेश माग गर्दै सर्वोच्च न्यायलयमा दिएको रिट पनि सुनाईको क्रममा छ । यदि लौ मानौं- संसद पुनस्थापना नै हुने भो, अहिले नेपाली काँग्रेसमा आएको फुट पछि ठूलो दल अब हुने एमाले नै होला ! एमालेसँग मिलेर सरकार बनाउने, संगै चुनावमा जाने सोच राखिराख्दा पार्टी भित्र बढेको असन्तुष्टिले आज नेपाली काँग्रेस विभाजनमा पुगेको घाम जत्तिकै छर्लड्ग छ । यो अवस्थामा चोइटिएर गएको काँग्रेसको नेता शेरबहादुर देउवाले एमालेका केपी वली वा केपी वलीले उनैलाई सघाउन खोज्ने होलान्, सरकार गठन गर्ने सन्दर्भमा । गगन पक्ष त न सरकार गठन गर्दा, न त निर्वाचनमा जाँदा आफ्नै हैसियत अनुसार उभिने आफ्ना प्रतिनिधि माझ प्रष्ट देखिएका छन्, त्यो विषय त उनीहरुले विशेष महाधिवेशनकै क्रममा गरेको संकल्प प्रस्तावमै उल्लेख छ ।
निर्वाचन आयोगमा पुगेको नेपाली काँग्रेसको आधिकारिकता विवादमा आयोगले प्रमाण र तथ्यका आधारमा एउटा संवैधानिक निकास दिनै पथ्र्यो, दियो । जसको पक्षमा निर्णय आयो, उसले आफूले न्याय पाएको र विपक्षीले आयोगले षड्यन्त्र गरेको, विदेशी तत्वको संकेतमा निर्णय गरेको आरोप लगाउनु कुनै नौलो रहेन । रोचक त के भन्दा नेपाली काँग्रेसको प्रमुख प्रतिपक्षी मानिएको पाटीकै नेता अर्थात् केपी वलीका भक्त समेत ठानिएका एमालेका नेताले समेत विदेशी शक्तिको इशारामा गगन पक्षलाई आधिकारिकता दिएको आरोप लगाउनुलाई अहिलेको अवस्थामा निर्वाचनमा जान एमाले पनि आत्तिएको त होइन ? आशंका किन नगर्ने ?
जे होस्, एक पटक पार्टी फुटालेर त्यसको अमिलो, टर्रो स्वाद चाखिसकेर, त्यो दु:खद अनुभवको खाडलयुक्त गहिराई पुरिइसकेको अवस्था, अनी आफ्नो उमेरको पनि अन्तिम कालखण्ड, स्वास्थ्यका हिसावले त दैनिक जिवन चलाउनै सुसारे चाहिने अवस्थामा नेपाली काँग्रेसमै रहेका कारण सम्भवत: अहिलेसम्म देशको सबैभन्दा धेरै पटक प्रधानमन्त्री बनेका, ३५ वर्ष बढी जनप्रतिनिधि, सत्ताकै स्वाद चाखिरहेका शेरबहादुर देउवामाथि कुन व्यक्ति (?) कुन शक्ति (?) कुन अवस्था (?) हावी भयो र उनलाई यस्तो अवस्थातर्फ डोहोर्याइदियो ? बाहिरी पर्दा अर्थात् देख्नमा सिंह, सिटौला, निधी, कोइराला, महतजस्ता अनुहार देखिए पनि आखिर नेपाली काँग्रेसलाई दोस्रो पटक विभाजन गर्नमा घरकै पारिवारिक सदस्य अर्थात् आफ्नै अर्धाड्गीनी हुन भन्ने प्रष्ट छ ।
बोरामा रहेको आलु वा प्याज एउटा, दुईटा कुहिँदा नै त्यो फालिदिनु पर्ने हुन्छ, अन्यथा त्यसले बोराको सबै कुहाउँछ । हो, अहिलेको अवस्थामा नेपाली काँग्रेस अब यही अवस्थामा निर्वाचनमा होमिनु पर्छ । आफ्ना वास्तविक कार्यकर्ता, उनीहरुको भावना बुझ्न पनि । मेलमिलाप वा अझै पनि देउवा, उनका परिवार, उनको वरीपरी रहेका अनुहारलाई फकाउन खोज्दा नेपाली काँग्रेस झन् कमजोर हुन्छ । यस्ता स्वार्थी काँग्रेसलाई भविष्यले पाठ सिकाउने छ । यो निर्वाचन सोचे अनुसार जित्न नसकेर हारिएला वा ‘जेनजी’ पुस्ताको समेत मन जित्न सक्दा स्पष्ट बहुमत नै आउन पनि सक्छ, त्यतातिर लाग्नु पर्ने हुन्छ ।
अहिलेका शेरबहादुर देउवा ‘राणा’ भित्रनु अघिका जस्ता पनि छैनन्, अझै भन्ने हो भने ‘राणा’ राजनीतिमा सक्रिय हुनु अघिका जस्ता त झन् छँदैछैनन् । यो सबैलाई चेतना छ तर कुन्नी किन मुख खोल्न सक्दैनन् ? उनै वयोवृद्ध देउवाकै चाकडी र उनकी पत्नीकै आदेशलाई शिरोधार्य गर्दै हिँडीरहेका हुन ?
अब नेपाली काँग्रेसमा कोइरालाका वंशले आफ्ना पुर्खाले गरेको योगदानको हिस्सा प्राप्त गर्ने अवस्था त कुरै छाडौं, पाउँदै आइरहेको सम्मानलाई उचित बुझ्न नसक्दा भविष्यका दिनमा मान होइन, अपमान सहनु पर्ने देखियो । अनी इतिहासले पाँँच-पाँच पटक नेपाली काँग्रेसको खोल ओढेर प्रधानमन्त्री बनेका देउवा आखिर कसरी लोकतन्त्र विरोधी भए त जिवनको अन्तिम कालखण्डमा भनेर त्यसको पनि भावी पुस्ताले प्रश्न गरिरहने छन् । बरु, निर्वाचन आयोगले यस पटक नेपाली काँग्रेसबाट उछुट्टीएर गएको देउवा समूहलाई चुनाव चिह्न ‘बाँदर’ दिए हुन्थ्यो, किनकी बाँदरले आफ्नो घर बनाउने त परैको कुरो अर्काको पनि भत्काउँदै हिँड्छ क्या !

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
467 Shares