निर्वाचनका लागि भरपर्दो सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न आईजीपी दानबहादुर कार्कीको निर्देशन

काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा आईजीपी कार्कीले निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, जोखिम व्यवस्थापन तथा समसामयिक विषयवस्तुमा देशभरका प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका हुन्।
आईजीपी कार्कीले आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सतर्कता अपनाउन, सम्भावित जोखिमको पहिचान गर्दै आपराधिक गतिविधिसम्बन्धी सूचना संकलनलाई तीव्र बनाइ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिए। उनले निर्वाचन प्रक्रियाको हरेक चरणमा नागरिकको विश्वास कायम रहने गरी प्रहरीको भूमिका जिम्मेवार, निष्पक्ष र व्यावसायिक हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले समेत निर्वाचन सुरक्षा, कानून कार्यान्वयन र समसामयिक सुरक्षा चुनौतीका विषयमा आवश्यक निर्देशन दिएका थिए।
नेपाल प्रहरीले आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारीलाई थप सुदृढ बनाउँदै लगेकाे जनाएको छ।

Facebook Comments Box
TOP
279 Shares