प्रहरी जाँचबाट भागेका युवक कालीगण्डकीमा हाम फालेर बेपत्ता, परिवारको आरोप– ‘लखेटेर हाम हाल्न बाध्य पारियो

बागलुङ । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा नियमित प्रहरी जाँचका क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल बिक बागलुङबाट पर्वततर्फ जाँदै गरेको टिपरमा सवार थिए। मालढुङ्गास्थित अस्थायी प्रहरी पोष्टमा जाँचका क्रममा उनले अचानक भाग्ने प्रयास गर्दै कालीगण्डकी नदीमा हाम फालेका थिए।

प्रहरी निरीक्षक राजनकुमार पट्टेलका अनुसार ग१क ५२४४ नम्बरको टिपरमा बालुवा बोकेर जाँदै गर्दा उक्त घटना भएको हो। घटनापछि टिपर चालकसमेत फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यता, बिकका परिवारले भने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रहरीले लखेटेका कारण उनी नदीमा हाम फाल्न बाध्य भएको आरोप लगाएका छन्। घटनाको विरोधमा स्थानीयले बिहानैदेखि सडक अवरुद्धसमेत गरेका छन्।

घटनापछि आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलको तालिमप्राप्त गोताखोर टोलीले कालीगण्डकी नदीमा व्यापक खोजी कार्य गरिरहेको छ। अहिलेसम्म युवकको अवस्था अज्ञात रहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने स्थानीय स्तरमा तनावको स्थिति सिर्जना भएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
398 Shares