नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक

नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।यद्यपि अक्टोबर २८ (कात्तिक ११ गते) मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ ।         इयासाको टेक्निकल ओअप्रेसन टिमले यही असोज २१ देखि असोज २३ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले इयुअन्तर्गतको प्राविधिक टोली नेपाली हवाई क्षेत्रको अवस्थाबारे सकारात्मक रहेकाले नेपाल इयुको ‘उड्डयन सुरक्षा सूची’ बाट चाँडै हट्ने विश्वास व्यक्त गरे । उनले भने, “इयासाको प्राविधिक टोलीले नेपालले हवाई सुरक्षा क्षेत्रमा गरेका प्रगतिका बारेमा अध्ययन, छलफल गरेर गरेको छ । प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ र अन्तिम प्रतिवेदन इयुमा बुझाएपछि सुरक्षा सूचीबाट हटाउने निर्णयको टुङ्गो लाग्छ ।”इयूको प्राविधिक टोलीले अहिलेसम्म गरेको प्राविधिक अध्ययन र प्राधिकरणसँग गरेको छलफलमा इयासाको टोली सन्तुष्ट रहेको प्रवक्ता निरौलाले बताए । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाई सुरक्षादर र हवाई दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ ।उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ । इयुले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउँछन् । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ । आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७० दशमलव एक प्रतिशत अङ्क पाएको थियो ।इयुले उठाएका सुरक्षा चासोका विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयुको सुरक्षा सूचीबाट हट्ने प्रवक्ता निरौलाले स्पष्ट पारे । उनले भने, “अब इयुको सुरक्षा सूचीबाट नेपाल हट्छ । हामीले हवाई सुरक्षादरमा उल्लेख्य प्रगति गरेका छौँ । अन्य धेरै कुराको सुधार भएको छ ।”आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरूपमा मूल्याङ्कन गर्छ । प्राधिकरणले नियामक र सेवाप्रदायक निकायमा कर्मचारी सरुवा नगर्ने गरी नियमावली पनि संशोधन गरेको प्राधिकरणले जनाएको छ । नियामक निकायमा रहेको कर्मचारीको दरबन्दी सेवाप्रदायकमा सरुवा नहुनु ठूलो उपलब्धि भएको प्रवक्ता निरौलाले उल्लेख गरे । इयुले प्राधिकरण विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउन चासो दिएको थियो । संस्था विभाजन इयुको पूर्वशर्त नभएकाले अब संस्थागत विभाजन नहुने उनले स्पष्ट पारे । रासस

Facebook Comments Box
TOP
Shares