`हामी नेपाल’ को वेबसाइट एकाएक गायब, कारणबारे अनिश्चितता

काठमाडौं — गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सामाजिक संस्था ‘हामी नेपाल’को आधिकारिक वेबसाइट एकाएक इन्टरनेटबाट हराएको पाइएको छ। haminepal.org डोमेनमा रहेको वेबसाइट हाल खुल्न नसकेको भन्दै प्रयोगकर्ताहरूले समस्या देखाएका छन्।

वेबसाइट नखुल्ने भएपछि यसको कारणबारे विभिन्न अड्कलबाजी सुरु भए पनि हालसम्म प्राविधिक समस्या हो वा अन्य कारणले हटाइएको हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

‘हामी नेपाल’ सन् २०१५ पछि स्थापना भई २०२० मा औपचारिक रूपमा दर्ता भएको गैरनाफामूलक संस्था हो। संस्थाले विशेषगरी सामाजिक सेवा तथा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्छ।

संस्थाका संस्थापकमध्ये गृहमन्त्री गुरुङ पनि रहेको चर्चा भइरहेका बेला वेबसाइट अचानक अनुपलब्ध हुनु चासोको विषय बनेको छ।

यसअघि संस्थासँग सम्बन्धित पारदर्शिता र वित्तीय विवरणबारे विभिन्न प्रश्नहरू उठ्दै आएका थिए। तर ती विषयमा संस्थाले औपचारिक रूपमा विस्तृत प्रतिक्रिया सार्वजनिक गरेको छैन।

पछिल्लो समय गृहमन्त्री गुरुङमाथि विभिन्न आर्थिक तथा व्यावसायिक गतिविधिसँग सम्बन्धित आरोपहरू चर्चामा रहेका बेला वेबसाइट नै बन्द भएको देखिनु अर्थपूर्ण रूपमा हेरिएको छ।

यस विषयमा ‘हामी नेपाल’ वा गृहमन्त्री पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

Facebook Comments Box
TOP
228 Shares